इटलीको बोलोग्ना एयरपोर्ट नजिकै सोमबार एक ट्यांकरमा ठुलो विस्फोट भएको छ। विस्फोटमा परि कम्तिमा २ जनाको ज्यान गएको छ। भने कम्तिमा पनि ७० जना मानिस घाइते भएका छन् । समाचार अनुसार ट्यांकर लिक्विड पेट्रोलियम ग्यासले भरिएको उक्त ट्यांकरमा विस्फोटपछि आगो लागेको थियो । दुर्घटनापछि बोलोग्नाको आकाशमा ठुलो धुवाँको मुस्लो देखिएको थियो ।
यो पुरै घटनाको दृश्य सीसीटीभीमा कैद भएको थियो । भिडियोमा राजमार्गमा गइरहेको ट्यांकर अचानक अगाडि रहेको कन्टेनरसँग ठोक्किएको थियो । कन्टेनरले अचानक ब्रेक लगाएपछि ट्यांकर ठोक्किँदा दुर्घटना भएको हो ।
ठोक्किएपछि तत्काल आगो लागेको थियो । त्यसपछि ट्यांकरमा शक्तिशाली विस्फोट भएको थियो । यस विस्फोटमा सडकमा १० फिट गहिरो खाडल परेको छ। अग्ननियन्त्रकका अनुसार विस्फोट भएको स्थानमा करिब ३ घण्टासम्म आगोको लप्का देखिएको थियो ।



