भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी चढेको विमान २० सेकेण्डले दुर्घटना हुनबाट बचेको तथ्य खुलासा भएको छ ।
यसलाइ भारतको नागरिक उड्डयन महानिर्देशकले हालै जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
गएको २६ अप्रिलका दिन गान्धी चुनावी प्रचार प्रसारका लागि कर्णाटक तिर जाने क्रममा चढेको विमान आपतकालीन अवतरण गराइएको थियो ।
यो घटना नयाँ दिल्लीबाट उत्तरी कर्णाटकको हुब्बाली विमानस्थलमा अवतरणका क्रममा भएको थियो । विमान अवतरणपछि कांग्रेस अध्यक्ष गान्धीले आफू षड्यन्त्रको शिकार भएको अभिव्यक्ति दिएका थिए ।
विमानमा अवर्णनीय खराबी हुनु षड्यन्त्रपूर्ण रहेको भन्दै कांग्रेसले कर्णाटक प्रहरीमा उजुरी पनि गरेको थियो ।
विमान ८ हजार मिटरबाट तल झर्दै गर्दा गान्धीले अरु केही नसम्झी मानसराेवर मात्र सम्झेकाे बताएका थिए । साथै उनले अाफू सम्भावित दुर्घटनाबाट बचेपछि भगवान शिवप्रति अास्था बढेकाे र कु्नै दिन मानसराेवर जाने भाकल गरेकाे पनि उल्लेख गरेका थिए ।
त्यसै भाकल अनुसार गान्धी अहिले नेपाल हुँदै मानसराेवरकाे यात्रामा छन् ।
नागरिक उड्डयन महानिर्देशकका अनुसार घटनाका बेला गान्धीबाहेका विमानमा २ जना चालक, १ जना क्याबिन कर्मचारी र १ जना इञ्जिनियर गरी अन्य ४ जना यात्रु थिए ।
नागरिक उड्डयन महानिर्देशकका अनुसार त्यस दिन केही सेकेण्डअघि विमानको समस्या पत्ता लागेको भए राहुल चढेको विमान आकाशमै दुर्घटना हुन्थ्यो ।
३० पाना लामो प्रतिवेदनमा जहाज उड्नुअघि कुनै समस्या नभएको पनि जनाइएको छ ।



