आश्विन महिनाको सङ्क्रान्ति सोमवार परेको छ र सूर्यको राशिसङ्क्रमणको समयमा मिथुन लग्न, शुक्लपक्षको नवमी तिथि र धनु राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले आश्विन महिनाभरि कन्या राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त बुध र बृहस्पति ग्रहले राशि परिवर्तन गर्नेछन् । सुरुमा तुला राशिमा रहेको बृहस्पति ग्रह महिनाको १९ गतेदेखि बृश्चिक राशिमा प्रवेश गर्नेछ, त्यस्तै सुरुमा सिंह राशिमा रहेको बुधले ०२ गतेकै दिन आफ्नो घर कन्या राशिमा प्रवेश गर्नेछ र पुनः यस महिनाको २० गते बुध ग्रह तुला राशिमा पुग्ने देखिन्छ ।

अन्य ग्रहहरूमध्ये मङ्गल र केतु ग्रह मकर राशिमा, राहु ग्रह कर्कट राशिमा, शुक्र ग्रह तुला राशिमा र शनिश्चर ग्रह धनु राशिमा अघिल्लो महिना जसरी नै विचरण गर्नेछन् । ग्रहसभामा राहु र केतु सदैव बक्र गतिमा रहने गर्दछन्, त्यसबाहेक यो महिनाको १४ गतेपछि शुक्र ग्रह बक्री गतिमा रहने छ । आश्विन ०२ गतेदेखि १९ गतेसम्म बुध ग्रह सूर्यका साथमा रहने हुँदा यो महिनाको पूर्वार्द्धमा बुधादित्य योग रहने छ । त्यस्तै विगत केही महिनादेखि मङ्गल र केतुले बनाएको युतिसम्बन्ध यो महिना पनि कायम हुनेछ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना अधिकांश उपभोग्य सामाग्रीको भाउ बढ्ने सङ्केत छ । सोमवार सङ्क्रान्ति परेको हुँदा दक्षिणी वायुको प्रभाव रहने छ । शासक वर्गमा मतभेद सिर्जना हुनेछ । शिक्षण संस्था, औद्योगिक संस्था, संघसंस्थाहरूमा असन्तुष्टि र कलहको वातावरण कायम हुनेछ । जनतामा फजुलखर्च र मनोरञ्जनात्मक खर्चको मात्रा बढ्ने छ । दैनिक उपभोग्य र किराना सामानको दाम बढ्ने छ । दूध, दही र अन्य रसादि वस्तुको मूल्यमा समेत बढोत्तरी हुनेछ । गाई, देवता र ब्राह्मणको सम्मान र पूजा हुनेछ । वर्षाको राम्रो सङ्केत छ । मङ्गल र केतुको युतिसम्बन्ध अझ पनि कायम नै रहेकाले कतैकतै मोटर, गाडी र विमानादिको दुर्घटना, कतैकतै बाढी, पैह्रो र जनधनको नाश हुने घटना घट्न सक्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छैंटौं भावमा रहेको सूर्यको प्रभावले यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । राशिस्वामी मङ्गलको प्रभावले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । सातौं भावमा रहेको भाग्येश बृहस्पति पनि अनुकूल नै देखिन्छ । तर दसौं भावमा राशिस्वामीका साथमा युतिसम्बन्ध बनाएर बसेको केतुको प्रभाव नकारात्मक छ, जसबाट प्रयासमा असफलता हुनाले मानसिक तनाव बढ्न सक्छ । अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ, सचेत हुनुपर्छ । समग्रतामा अशुभ पक्षमा कमी ल्याउन यो महिना माता दुर्गाको उपासनामा जोड दिनु उपयोगी हुनेछ । यस महिनाको ०८, ०९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पञ्चम भावमा बसेको चतुर्थेश सूर्यको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राशिस्वामी शुक्रको प्रभावले विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण दिनचर्र्यामा अवरोध आउने छ । यद्यपि पेसागत र व्यवसायिक परिस्थति ठिकै रहने छ । कामको बोझ बढेको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू प्रबल हुनेछन् । विपरीत परिस्थिति आएमा प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउने प्रयास गर्नु राम्रो हुनेछ । खर्चको मात्रामा अचानक बृद्धि हुनेछ । मानसिक तनावबाट जोगिनु पर्छ । यस महिना ग्रहगोचरबाट प्राप्त हुने अशुभ फलको निवारणका लागि तपाईंले दिनैपिच्छे गाईलाई भोजन गराउनु वा माता लक्ष्मीको उपासना गर्नु लाभप्रद हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, १९, २०, २१, २८, २९ र ३० गते तपाईंले बढी सचेतता अपनाएको राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चौथो घरमा रहेको सूर्यको प्रभावले यो महिना कडा मिहिनेत र परिश्रम गर्ने समय हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । राशिस्वामी बुधले अधिकतम समय चौथो र पाँचौं भावमा उपस्थिति जनाउने छ, यसको प्रभावले मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । पाँचौं भावमा रहेको बृहस्पति यसै महिनाको उत्तरार्द्धमा षष्ठम भावमा प्रवेश गर्ने हुँदा झैझगडा र मुद्दामामिलाबाट टाढा बसेको जाति हुन्छ । यो महिना दिनैपिच्छे भगवान् सूर्यनारायणलाई जलार्पण गर्नु वा कुनै पवित्र तीर्थस्थलमा गई तीर्थश्राद्ध गरिदिंदा तपाईंले अशुभ पक्षको निवारण गर्न सक्नुहुन्छ । यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२, २३ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सूर्य र बृहस्पति यो महिना अनुकूल रहने छन् । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । यस अवधिको अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यो महिना उत्तम देखिन्छ । तर पञ्चमेश मङ्गल केतुसँग युतिसम्बन्ध बनाएर सातौं भावमा उपस्थित भएकाले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । उता आफ्नै राशिमा रहेको राहु ग्रहले मानसिक खिन्नता बढाउने छ । मनमा चिन्ता, शङ्का र भ्रमको निवास हुनेछ । यस महिनामा अशुभ फलको न्यूनीकरण गर्न तपाईंले भगवान् शिवको उपासना गर्नुका साथै नाग देवताको पूजाआजामा ध्यान दिनु राम्रो हुनेछ । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गतेका दिन तपाईंको चन्द्रमा अनुकूल हुने देखिंदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राशिस्वामी सूर्यले दोस्रो भावमा प्रवेश गरेको छ । यसको प्रभावले शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, तर घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । कुनै ठूलो सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ । उता भाग्येश मङ्गलले केतुसँग युतिसम्बन्ध बनाएर छैटौं भावमा डेरा जमाएकाले घरपरिवारका सदस्य तपाईंप्रति उदासीन रहने छन् । आफन्तहरूसित नै झैझगडा र विवाद हुनसक्छ । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । दुष्ट मित्रदेखि सावधान रहनु आवश्यक छ, किनभने उसले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछ । यस अवधिमा कुनै यात्राको योजना छ भने स्थगित गर्नु बेस हुनेछ । यो महिना तपाईंले प्रारम्भमा नै सत्यनारायण पूजा गरी महिनाभरि भगवान् नारायणको उपासना गरेमा अनिष्टलाई न्यूनीकरण गर्न सक्नुहुन्छ । सामान्यतया यस महिनाको ०८, ०९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस महिनाको पूर्वार्द्धमा राशिस्वामी बुध र सूर्यको युति भई तपाईंको राशिमा बुधादित्य योगको सिर्जना भएकाले तपाईं धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । तर पाँचौं भावमा मङ्गल ग्रहको उपस्थिति र महिनाको उत्तरार्द्धमा भाग्येश शुक्र बक्री हुने हुँदा यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, सावधान हुनु आवश्यक छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यो महिना अशुभ फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले भगवान् गणेशको उपासना गर्नु मुनासिब देखिन्छ । खास गरी तपाईंले यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, १९, २०, २१, २८, २९ र ३० गते सतर्कता अपनाएको जाति हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यो महिना सूर्यले बाह्रौं घरमा विचरण गर्नेछ, उता राशिस्वामी शुक्र आफ्नै राशिमा रहे पनि महिनाको उत्तरार्द्धमाम बक्र अवस्थामा अस्त रहने भएकाले यो महिना क्षणिक आवेग र उन्मादको मात्रा बढ्ने समय छ । निर्णय क्षमतामा कमी आउने छ, परिणामतः गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । तर महिनाको अन्त्यमा आफ्नै राशिमा आइपुग्ने भाग्येश बुधको सकारात्मक प्रभाव रहने छ, उक्त अवधिमा अवधिमा मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । यस महिना कुनै अनिष्ट परिणाम प्राप्त नहोस् भन्ने उद्देश्यले दैनिक हनुमान् चालिसाको पाठ गर्नु वा कुनै तीर्थस्थलमा रहेका बाँदरलाई चना र गुड वितरण गर्नु राम्रो हुनेछ । यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२, २३ र ३१ गते तपाईंले सचेत भएको राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कर्मक्षेत्रको मालिक मानिने सूर्यले यो महिना राज्य भावमा प्रवेश गरेको छ । अतः यस अवधिमा इच्छा र आकाङ्क्षा पूर्ण हुने देखिन्छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि यो समय श्रेष्ठ मानिन्छ । तृतीय पराक्रम स्थानमा रहेको राशिस्वामी मङ्गलको प्रभावले मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । तर केतु ग्रह पनि राशिस्वामीका साथमा रहेको हुँदा घमण्डका कारण बन्नै लागेको काम पनि बिग्रने सङ्केत छ, त्यसैले धैर्यता र संयमतालाई त्याग्नु हुँदैन । यस महिनामा अझ धेरै शुभफल प्राप्त गर्न तपाईंले दैनिक दुर्गाकवचको पाठ गर्नु वा माता वा मातृतुल्य व्यक्तिको सल्लाहमा काम गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा कमजोर भएकाले ती दिन सतर्कता अपनाउनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कर्मक्षेत्रमा भाग्येश सूर्यको उपस्थिति भएकाले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने तथा कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । राशिस्वामी बृहस्पति महिनाको पूर्वार्द्धमा राज्यस्थानमा उपस्थिति जनाएकाले वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । तर पञ्चमेश र द्वादशेश मानिने मङ्गल ग्रह द्वितीय भावमा रहेको र शनिश्चरको मध्य साढेसाती कायमै रहेको हुँदा आर्थिक दृष्टिकोणले यो समय राम्रो होइन । घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ, सचेत हुनुपर्छ । खास गरी यो महिना शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले भगवान् शिवको उपासना गर्नु उपयोगी हुनेछ । यस महिनाको ०८, ०९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यो महिना तपाईंले राम्रा र नराम्रा दुबै खालका परिणाम भोग्नु पर्ने हुन्छ । लामो यात्रा सफल हुनेछैन । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । राशिमा युतिसम्बन्ध बनाएर बसेका मङ्गल र केतुको प्रभावले इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । पारिवारिक झमेला बढ्नाले मानसिक तनाव हुन सक्छ । उता भाग्येश बुधले नवौं र दसौं भावमा उपस्थिति देखाएकाले केही सकारात्मक परिणाम पनि प्राप्त हुन सक्छ, जस्तै व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ, वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ, आदि । सबै परिणाम आफ्नो पक्षमा रहोस् भन्ने उद्देश्यले तपाईंले यो महिना शनिश्चर ग्रहको उपासना गर्नु वा दीनदुःखीहरूको सेवा गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, १९, २०, २१, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सूर्यको अष्टम भावमा प्रवेश भएकाले यो महिना तपाईंले अचानक विविध समस्या झेल्नुपर्ने हुनसक्छ । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । बाह्रौं भावमा रहेको केतु र मङ्गलको प्रभावले खर्चको मात्रामा बृद्धि भइरहन्छ । तर राशिस्वामी शनिश्चरको शुभफल मिल्नेछ, प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल हुनेछ । धार्मिक र सामाजिक क्षेत्रमा खट्नु पर्ने हुन्छ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिन्छ । यस अवधिमा अधिकतम शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले पिताको सामीप्य र आशीर्वाद प्राप्त गर्ने प्रयास गर्नुपर्छ अथवा कुलका ज्येष्ठ सदस्यहरूलाई गुलियो भोजन गराउनु जाति हुन्छ । यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२, २३ र ३१ गते तपाईंका लागि खराब दिन रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सातौं भावमा रहेको सूर्य र अष्टम भावमा रहेको राशिस्वामी बृहस्पतिको प्रभावले यो महिना त्यति सकारात्मक देखिंदैन । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । तर यस महिनाको १९ गतेपछि आगामी १३ महिनाका लागि राशिस्वामी बृहस्पतिको भाग्यभावमा प्रवेश हुँदैछ, अतः तदुपरान्त बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । तपाईंले यस महिनामा अनिष्ट निवारणका लागि कुल र पितृको उपासना गर्नु राम्रो हुनेछ, तर पिता वा पितृतुल्य व्यक्तिको अपमान गर्नु हुँदैन । खास गरी यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गते तपाईंले सतर्कता र संयमता अपनाएको जाति हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah