मेचीनगरको इटाभट्टामा जारी प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवको छैठौँ दिन बिहीवार ‘स्वस्थ समाजका लागि स्वस्थ राजनीति’ विषयमा घनीभूत बहस भएको छ ।
बिहीवारको सो प्यानल डिस्कसनमा सहभागी वक्ताहरूले समाज परिवर्तनका लागि राजनीति सफा र स्वस्थ हुनु पर्ने बताए । उनीहरूले स्वस्थ राजनीति हुन सके समाज स्वतः स्वस्थ हुने धारणा राखे ।
छलफलमा वरिष्ठ पत्रकार रविन्द्र मिश्रले देश विकासका लागि अहिलेका राजनीतिक दलले केही गर्न नसकेको बताए । उनले समाज परिवर्तनका लागि स्वस्थ राजनीति गर्न सुझाव दिए ।
‘अहिले देशमा भएका राजनीतिक दललाई हामीले सुधार्ने प्रयास गर्यौँ भने हाम्रो जीवनकालमा परिवर्तन पाउन सक्दैनौँ,’ वीवीसी नेपाली सेवाका सम्पादक समेत रहेका पत्रकार मिश्रले भने– ‘यो देशमा उन्नत किसिमका नयाँ राजनीतिक पार्टीहरू जन्मनु पर्यो ।’ उनले जबसम्म राजनीतिक दल सुध्रिन सक्दैनन् तबसम्म स्वस्थ समाजको परिकल्पना गर्न नसकिने टिप्पणी गरे ।
अर्का वक्ता बाम विश्लेषक मुमाराम खनालले देश विकासका लागि नयाँ शक्तिको आवश्यकता औँल्याए । उनले पात्र मात्र परिवर्तन भएर उही व्यक्तिमा सोचको परिवर्तन नहुने हो भने समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । खनालले पात्र परिवर्तन भन्दा पनि उनीहरूमा प्रवृत्ति परिवर्तनको सोच पलाउनु पर्ने बताए ।
‘यो देशमा अब समाज परिर्वतनका लागि नयाँ हस्तक्षेपकारी पार्टीको आवश्यकता छ’ खनालले भने–‘हस्तक्षेपविना अहिलेका राजनीतिक दलहरू पनि सुध्रिनेवाला छैनन् । हिजोका संरचनामा रहेका पार्टी नसुध्रिएसम्म सामाजिक परिवर्तन हुन सक्दैन ।’
अर्का प्यानलिस्ट लोकतन्त्र पोस्ट दैनिकका सम्पादक मोहन काजीले अहिलेको राजनीति अस्वस्थ हुनुमा मुख्य दलहरुको दोष भए पनि उनीहरूलाई सुधारेर लैजानु पर्नेमा जोड दिए ।
मिश्र र खनालले पुराना राजनीतिक दलले काम गर्न नसक्ने औँल्याए पनि काजीले भने फरक मत सहित सुझाव राखे ।
उनले राजनीतिक परिस्थिति स्थिर नभएका कारण समाज स्वस्थ हुन नसक्ने बताए । ‘देशको मुल नीति स्वस्थ हुनु पर्छ अनि मात्र सबै क्षेत्र स्वस्थ बन्दै जान्छ’ पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य समेत रहेका काजीले भने–‘त्यसका लागि हामीले दलहरुलाई नै सच्याउनुपर्छ ।’
उनले राजनीतिलाई सुधार्न सकिने बताउँदै राजनीतिलाई पेशा होइन, सेवा गर्ने माध्यम बनाउनु पर्नेमा जोड दिए । उनले अहिलेका राजनीतिक शक्तिहरूलाई पनि सुधार्न सकिने बताउँदै तिनीहरुको प्रवृत्ति र सोच्ने तरिका फेर्नु पर्ने सुझाव दिए । कार्यव्रmमको सहजीकरण सागर शिवाकोटीले गरेका थिए ।



