काठमाडौं — अमेरिकाको एरिजोना स्टेटमा ५३ वर्षीया एक महिला सडक दुर्घटना भएको ६ दिनपछि जिउँदै भेटिएकी छन् । उनको कार रेलिङ भत्काएर ५० फीट तल एउटा झ्याम्म परेको रुखमा अड्किएको थियो ।
घटनास्थलमा कोही पनि व्यक्ति नभएकाले दुर्घटनाको जानकारी तत्कालै प्राप्त भएन । अक्टोबर १२ मा भएको यो दुर्घटनाका बारेमा प्रहरीले बुधवार जानकारी दियो ।
प्रहरीको सेफ्टी डिपार्टमेन्टका अनुसार, महिलाले फिनिक्सको उत्तरबाट ८० किलोमिटर पर विकेनबर्गमा राष्ट्रिय राजमार्ग ६० मा कार कुदाएकी थिइन् । अचानक कारमा नियन्त्रण गुमाउन पुगेर उनी सडकबाट तल पुगिन् ।
अक्टोबर १८ मा एरिजोना हाईवेको सम्भार गर्ने एक टोलीले गाईलाई सडकबाट हटाउँदा सडक किनारमा भाँचिएको रेलिङ देख्यो । तल हेर्दा उनीहरूले रुखमा अड्किएको कार देखे ।
उद्धार टोलीले कारमा कुनै मानिस देखेनन् तर तल पुग्दा नदीको किनारमा पाइतालाको चिह्न देखे । अलिक अघि बढ्दा उनीहरूले गम्भीर रूपमा घाइते र डिहाइड्रेसनपीडित महिला फेला पारे ।
महिलाले उद्धार टोलीलाई आफू कारमा केही दिन बसेपछि हिम्मत गरेर रुखबाट ओर्लिएको र रेल्वे लाइनतिर गएको बताइन् । तर कमजोरीका कारण उनी अघि बढ्न सकिनन् ।
महिलालाई हेलिकप्टरबाट अस्पताल पु–याइएको छ । सार्वजनिक सुरक्षा विभागका निर्देशक कर्नल फ्य्रांक माइल्सटीडले उद्धार टोलीको साहसको प्रशंसा गरेका छन् ।
एजेन्सी



