काठमाडौं — अस्ट्रेलियाको एक विमानस्थलको चारैतिर विषालु पानी फैलिएको रहस्य खुलेको छ ।
पानीमा भएका अत्यधिक विषका कारण त्यहाँनजिक बस्ने मानिसलाई क्यान्सरको जोखिम रहेको छ । एक गोप्य प्रयोगशालामा उक्त पानीको अनुसन्धान गर्दा अधिक मात्रामा खतरनाक रसायन रहेको पत्ता लागेको छ ।
सिड्नी एयरपोर्टवरिपरि दुई किसिमका विषालु रसायन फेला परेका हुन् । अचम्मको कुरा त, वर्षौंसम्म त्यहाँका मानिस र यात्रुलाई यसको जानकारी लुकाएर राखियो ।
द सिड्नी मर्निङ हेराल्डका अनुसार, पानीमा भएका रसायन वातावरणमा घुल्दैनन् र सन् १९७० देखि पानीलाई प्रदूषित गरिरहेका छन् ।
रिपोर्टमा खुलेअनुसार, एयरपोर्ट भएको ठाउँमा पहिला फायर ट्रेनिङ ग्राउन्ड थियो जसलाई पछि स्थानीयहरूले पार्कका रूपमा प्रयोग गर्न थाले ।
यो खतरनाक रसायनविरुद्ध अभियान चलाइरहेका सदस्यमध्ये एक लिन्डसे क्लाउटले प्रतिबन्धित रसायनका कारण मानिस बिरामी भएको बताइन् । लामो समय रसायनको सम्पर्कमा रहेका मानिस बिरामी भएको उनको भनाइ छ ।
रसायनका कारण जनावरलाई पनि क्यान्सर भएको अध्ययनले देखाएका छन् ।
एजेन्सी



