काठमाडौं — भारतको कर्नाटक राज्यमा कांग्रेस र जेडीएस गठबन्धनको सरकालाई मंगलवार झड्का लागेको छ । दुई निर्दलीय विधायकहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिए ।
यसले सरकारलाई तत्कालै त असर पार्दैन किनसक २२४ सदस्यीय विधानसभामा उससँग ११७ विधायकको समर्थन प्राप्त छ ।
तर केही दिनभित्र कांग्रेसका केही विधायक भाजपामा पस्न सक्ने सम्भावना छ । कंग्रेसका कम्तीमा पाँच विधायकले विधानसभाबाट राजीनामा दिने सम्भावना छ ।
भाजपा र कंग्रेस दुवैले आआफ्ना विधायकहरूलाई विरोधी खेमामा जानबाट रोक्नका लागि प्रयास गरिरहेका छन् । भाजपाका विधायकहरू हरियाणाको गुरुग्राममा राखिएका छन् भने कंग्रेसले आफ्ना विधायकलाई मुम्बईको एक होटलमा राखेको छ ।
भाजपाले कुमारस्वामी नेतृत्वको सरकारलाई सत्ताच्युत गर्न खोजेको आरोपलाई अस्वीकार गरेको छ । तर उसले कंग्रेस र जेडीएसका केही विधायकलाई आफ्नो पक्षमा तान्नका लागि उनीहरूलाई विधानसभाबाट राजीनामा गराउन खोजेको अनुमानहरू भइरहेका छन् ।
दलपरिवर्तनविरोधी कानूनका कारण कुनै पार्टीका विधायक तथा सांसदले सजिलै पार्टी चेन्ज गर्न पाउँदैनन् । त्यसका लागि पार्टीका कुल विधायकको कम्तीमा दुईतिहाइ सांसद आवश्यक हुन्छ ।
यस्तो अवस्थामा भाजपाले कांग्रेसका विधायकलाई आफ्नो पार्टीमा ल्याउन सम्भव देखिँदैन । त्यसैले कर्नाटकमा भाजपा अन्य दलका विधायकलाई आफ्नो पक्षमा पारेर विधानसभामा उनीहरूलाई राजीनामा गराउन चाहन्छ ।
विधायकहरूले राजीनामा दिएमा विधानसभाको कुल स्ट्रेन्थ कम हुन्छ र त्यसै हिसाबले बहुमतका लागि आवश्यक आँकडा पनि कम हुन्छ ।
दुई निर्दलीय विधायकले सरकारलाई समर्थन फिर्ता दिएपछि भाजपाले विरोधीहरूका १४ विधायकलाई राजीनामा दिन फकाएमा विधानसभाको कुल संख्या २०७ हुन्छ । अनि १०४ सीट जितेको भाजपाको सीधै बहुमत हुन्छ । भाजपा हाल यही योजनाबमोजिम काम गरिरहेको देखिन्छ ।
भाजपाको प्रयासलाई असफल बनाउनका लागि कांग्रेस सक्रिय भएको छ । पार्टीले आफ्ना विधायकहरूलाई मुम्बईस्थित एक होटलमा लगेको छ । पार्टीको रणनीति विधायकहरूलाई एकजुट राख्ने अनि भाजपाको पहुँचभन्दा पर राख्ने रहेको छ ।
केही विधायकले राजीनामा दिएछन् नै भने पनि सभामुखले राजीनामालाई तत्कालै स्वीकार नगरेर लामो समयसम्म लट्काउन सक्छन् ।
यसरी संकटको स्थितिमा कांग्रेसलाई व्यवस्था मिलाउन समय पुग्छ । कांग्रेसले प्रत्याक्रमण गरेर भाजपाका केही विधायकलाई आफ्नो पक्षमा ल्याउन र राजीनामा दिलाउन प्रयास पनि गर्नेछ ।
एजेन्सी



