काठमाडौं — अर्जेन्टिनी फूटबलर एमिलियानो सलाले ह्वाट्सयापमा पठाएको भोइस मेसेज सार्वजनिक भएको छ ।
बेलायत र फ्रान्सको बीचमा रहेको इंग्लिश च्यानलमा विमान हराएको केही समयअघि उनले पठाएको सन्देशमा ‘विमान टुक्राटुक्रा हुन लागेको जस्तो देखिन्छ’ भनिएको छ ।
स्ट्राइकर १५ मिलियन पाउन्डको कीर्तिमान रकमका साथ नान्टेसबाट कार्डिफ सिटीका जाँदै थिए । वेल्सको राजधानी कार्डिफ जाने क्रममा उनको विमान हराएपछि उनको मृत्यु भएको आशंका गरिएको छ ।
उद्धारकर्ताहरूले समुद्रको एक हजार वर्गमाइलभन्दा बढीको क्षेत्रमा विमानको खोजी गरिसकेका छन् । सला एक इन्जिन भएको पाइपर मालिबु विमानमा चढेका थिए ।
ह्वाट्सयाप अडियो सन्देश अर्जेन्टिनाको सञ्चारमाध्यम ओलेले प्रकाशित गरेको हो । फ्रान्सको नान्टेस क्लबका साथीहरूसँग बिदाबारी भएपछि शान्त सुनिएका सलाको सन्देश रेकर्ड भएको हो ।
‘म अहिले विमानमा छु र यो खसेर टुक्राटुक्रा होला जस्तो छ । मैले भोलि कार्डिफ गएर ट्रेनिङ शुरू गर्नुपर्नेछ । साथीहरू, मैले नयाँ क्लबसँग दिउँसो ट्रेनिङ गर्नुपर्नेछ । के हुन्छ हेरौं ।’
‘अनि तिमीहरूको के चलिराछ नि, सबै ठीक छ ? अबको डेढ घन्टामा तिमीहरूले मबाट केही सुनेनौ भने उनीहरूले मलाई खोज्न कसैलाई पठाउँछन् कि किनकि उनीहरूले मलाई भेट्ने छैनन् । तर तिमीले थाहा पाउनेछौ । एकदमै डर लागिरहेको छ ।’
सला चढेको विमान पाँच हजार फीटको उचाइमा उडिरहेको थियो तर उसले गुएर्नसे पार गरिरहँदा अवतरणको अनुरोध ग–यो । जर्सी एयर ट्राफिक नियन्त्रकहरूसँग सम्पर्क टुट्नुअघि विमान अन्तिमपटक २३ सय फीटमाथि उडिरहेको थियो ।
खोजी टोलीहरूले तत्कालका लागि विमानको खोजी कार्य स्थगित गरेका छन् ।
घटनापछि कार्डिफ सिटीले मंगलवारको ट्रेनिङ रद्द गरेको छ । सलाले नयाँ क्लबका साथीहरूसँग त्यही दिन ट्रेनिङ गर्ने थिए ।
नान्टेस क्लबका समर्थकहरूले मंगलवार राति शहरको मध्य भागमा जागरण राखे अनि प्लेस रोयालको फोहराअगाडि पहेंलो ट्युलिप र अन्य कुराले सम्मान दर्शाए ।
एजेन्सी



