काठमाडौं–देशमा निर्यात भन्दा आयातको ग्राफ उकालो लागेपछि सरकारले आयात कम गर्ने नीति लिएको छ । सरकारले जारी गरेको निर्यातमा नगद अनुदान कार्यविधि २०७५ लाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई परिपत्र गरेको छ ।

अब निर्यातकर्ताले निर्यात प्रयोजनका लागि बैंकिङ कारोबार गर्ने बैंकबाटै नगद अनुदान पाउने भएका छन् । सो व्यवस्था गर्न बाणिज्य बैंकहरुलाई केन्द्रिय बैंकले निर्देशन दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंकको कार्यालयबाट भएको हो सोही कार्यालयले मात्र नगद अनुदान उपलब्ध गराउन निर्देशन दिएको हो ।

निर्यातमा नगद अनुदान प्रदान गर्दा भने स्वदेशमै उत्पादन हुने कृषि, वन तथा खानिजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पुरा गरेको हुनुपर्नेछ ।

यस्तै उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ३० प्रतिशत र ५० प्रतिशत भएको वस्तुले मात्र निर्यातमा नगद अनुदान पाउँनेछन् । मूल्य अभिवृद्धि भन्नाले निर्यात गरिने वस्तु उत्पादन प्रक्रियामा उपयोग भएको स्वदेशी वस्तु तथा सेवाको मात्रा हो ।

सो अनुदान पाउनका लागि निर्यातकर्ताले वस्तुको भुक्तानी परिवर्त्य विदेशी मुद्रामा बैंक दाखिला भएको प्रमाण पेश गर्नुपर्नेछ । तर भारत निर्यातको हकमा भने प्रतितपत्र मार्फत आर्जित भारतीय मुद्रा बैंक दाखिला गरेको प्रमाणपत्र पेश गरेको हुनुपर्नेछ । निर्यात भएको वस्तुको प्रमाणिकरण भने गराउनुपर्नेछ ।

स्वदेशी उतपादनलाई निर्यातमुखी बनाउन र वैदेशिक व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न निर्यातकर्तालाई अनुदान प्रदान गर्नका लागि निर्यातमा अनुदान गर्ने सम्बन्धी कार्यविधि २०७५ मन्त्रिपरिषदले स्विकृत गरिसकेको छ । यसैको कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।

निर्यातकर्ताले अनुदान कसरी माग गर्ने ? अनुदान चाहने निर्यातकर्ताले कार्यविधिको अनुसूची ४ अनुसार बैंकमा निवेदन दिनु पर्नेछ । निवेदन दिँदा जुन बैंक मार्फत निकासी गर्नको लागि बैकिङ कारोबार गरेको हो सोही बैंकमा दिनुपर्नेछ ।

यसका लागि निर्यातकर्ताले आयात—निर्यात अनुमतिपत्र (एक्जिम कोड) तथा स्थायी लेखा नम्बर र मूल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपी, व्यापारिक बिल बिजक र भन्सार प्रज्ञापनपत्र, वस्तु निर्यात गरेबापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणपत्र र निर्यातकर्ताले पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

निर्यातकर्तालाई प्रदान गरिने अनुदान रकम राष्ट्र बैंकमा निर्यातमा नगद अनुदान सोधभर्ना नामक एकल खाता रहनेछ र अर्थमन्त्रालयले सो खातामा आवश्यकता अनुसार अग्रिम जम्मा गर्नेछ ।

कुन वस्तुमा कति प्रतिशत नगद अनुदान ? प्रशोधित चिया, कफी, हस्तकला र काष्ठकलामा वस्तु, छाला र छालाजन्य उत्पादन, हाते कागज र सोबाट बनेको वस्तु, प्रशोधित जडिबुटी तथा सारयुक्त तेल, पत्थर र पत्थररहित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वटार, बेसार, तरकारी, फुल, मह, अलैची अदुवाको निर्यात मूलयमा पाँच प्रतिशत नगद अनुदान प्राप्त हुनेछ ।

यस्तै स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैचार उनीका सामान, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान, जुटका उत्पादन, सुन÷चाँदीका गरगहना, औषधी, फेल्ट, पोलिष्टर यार्न निर्यातमा ३ प्रतिशत नगद अनुदान पाइनेछ ।