ऋण लिनका लागि तपाई बैंक जाँदै हुनुहुन्छ भने आधार व्याजदर राम्ररी हेर्नुहोस्। बैंकहरुले आधार व्याजदरमा निश्चित प्रिमियम दर जोडेर तपाईलाई पर्ने व्याजदर तय गर्छन्।
वाणिज्य बैंकहरुको आधार व्याजदर फरक फरक छ। बैंकहरुको आधार व्याजदर ५. ६ प्रतिशतदेखि ११. ५५ प्रतिशतसम्म छ। सामान्यतः ऋणका लागि उच्च आधारदर भएको बैंकको व्याज पनि महँगो पर्छ भने कम आधार दर भएको बैंक सस्तो पर्छ। यद्यपी आधार दरले मात्रै ऋणको व्याज तय हुँदैन।
आधार व्याजदर हेरेपछि तपाईलाई प्रिमियम दर पनि थाहा हुनु जरुरी हुन्छ। प्रिमियम दर तोक्न बैंकहरु स्वतन्त्र छन्। तपाईले लिने ऋणको प्रयोजन, बैंकको विश्वास र भुक्तानी अवधिमा प्रिमियमको दर भर पर्छ।
घरजग्गा, सवारीसाधन, व्यापार, उद्योग, कृषि काम लगायतका प्रयोजनमा दिइने ऋणको प्रिमियम दर फरक फरक छ। त्यस्तै तपाई बैंकको पुरानो ऋणी हो र नियमित रुपमा समयमै ऋण तथा व्याज भुक्तानी गर्दै आएको खण्डमा बैंकले प्रिमियम दर केही घटाउन पनि सक्छन्।
त्यसबाहेक सरकारले दिने विभिन्न सहुलियत ऋणमा पनि आधार दर महत्वपूर्ण हुन्छ। वैदेशिक रोजगारबाट फर्केका नेपाली युवा, कृषि उद्यम गर्न चाहने युवा, महिला, दलित तथा पिछडिएका समुदाय तथा स्वदेशमै व्यवसाय गर्न चाहने युवालाई लक्षित गर्दै सरकारले सहुलियत दरमा ऋण प्रदान गर्ने गरेको छ।
महिला उद्यमशिलताका लागि व्याजमा ६ प्रतिशतको अनुदान र अन्यमा ५ प्रतिशत अनुदान सरकारले दिने गरेको छ। यस्तो ऋणका लागि पनि आधार दर कम भएको बैंक सस्तो पर्छ। आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर आउने दरमा सरकारले सहुलियत दिने हो।
राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर सबैभन्दा कम ५. ६ प्रतिशत छ।
हेर्नुहोस्, कुन बैंकको आधार व्याजदर कति ?





