सन् १९९१ मा स्विडेनका नागरिक एलिजाबेथ हालिन र लास डाइडिङले ६ सय ८० डलर जरिवाना तिर्नुपरेको थियो। कारण, उनीहरूले आफ्नो छोराको नाम असाध्यै जटिल राखेका थिए। नाममा ४३ वटा क्यारेक्टर थिए। छोराको नाम उनीहरूले यसरी लेखेका थिए– ‘बी–आर–एफ–एक्स–एक्स–सी–सी–एक्स–एक्स–एम–एन–पी–सी–सी–सी–सी–एल–एल–एल–एम–एम–एन–पी–आर–एक्स–भी–सी–एल–एम–एन–सी–के–एस–एस–क्यू–एल–बी–बी–वान–वान–वान–वान–सिक्स।’

यति लामो हिज्जेसहित नामको उच्चारण चाहिँ ‘एल्बिन’ हुने उनीहरूले जनाएका थिए। यो नाम दर्ता गरिएन। उल्टै उनीहरूलाई जरिवाना तिराइयो। हालिन–डाइडिङ दम्पतीले छोराको यस्तो नामलाई ‘कलात्मक सिर्जना’ को उपज भनेका थिए।
अन्य विचित्रका जरिवाना
फिनल्यान्डमा कानुन मिच्नेलाई उसको आर्थिक हैसियत र आम्दानीअनुसार जरिवाना गरिन्छ। केही वर्षअघि विश्वप्रसिद्ध कम्पनी नोकियाका कर्मचारी एन्सी भान्जोकीले गति सीमा उल्लंघन गरेका थिए। ट्राफिक नियम तोडेका कारण उनलाई जरिवाना तिराइयो। उनको वार्षिक आम्दानी १ करोड २५ लाख डलर थियो।
त्यसका आधारमा उनलाई १४ दिनको आम्दानी बराबरको रकम १ लाख ३ हजार ६ सय डलर जरिवाना गरिएको थियो। स्विट्जरल्यान्डमा पनि कसुरदारको आर्थिक हैसियतअनुसार जरिवाना गरिन्छ। त्यहाँ सन् २०१० मा एक जना स्विडिस नागरिकलाई अत्यधिक गतिमा सवारी चलाएर अर्को गाडीलाई ठक्कर दिएको अपराधमा ६ लाख ५० हजार युरो जरिवाना तिराइएको थियो। ट्राफिक नियम उल्लंघन गरेबापत तिरिएको यो विश्वकै सबैभन्दा ठूलो जरिवाना थियो।
अमेरिकाको नेसनल फुटबल लिगले चर्चित खेलाडी चाड जोन्सनलाई खेल चलिरहेको बेला ट्वीट गरेकाले दण्डस्वरूप २५ हजार डलर जरिवाना तिराएको थियो। उनले खेलको बीचमा ट्वीटर चलाएका थिए। एक जना खेलाडी उनीसँग नराम्ररी जुधेपछि उनले ट्वीटरमा त्यसबारे लेखेका थिए।



