लन्डन (बेलायत) । बिहीवार विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) ले आपूर्तिमा गरेको कटौती र अमेरिकाको भेनेजुएला र इरानमाथिको प्रतिबन्धले तेलको मूल्यमा टेवा पुगेको हो ।
बिहीवार ब्रेन्ट क्रुडको मूल्य यो समाचार तयार पार्दासम्म पौने ८ बजे प्रतिब्यारेल ६५ सेन्ट बढ्दै ६६ डलर ६४ सेन्टमा पुगेको थियो । त्यस्तै, यूएस क्रुडको मूल्य पनि प्रतिब्यारेल ५९ सेन्ट बढेर ८१ सेन्टमा पुगेको थियो । अमेरिकी लगानी बैंक गोल्डम्यान स्याख्सले बुधवार ओपेकको तेल नीतिले छिट्टै तेलको मूल्य सन्तुलनमा ल्याउने र वर्षको उत्तरार्धबाट पुनः उत्पादन बढाउने अपेक्षा गरेको थियो ।
इरान र भेनेजुएलामाथि अमेरिकाको प्रतिबन्ध, अमेरिकाको कच्चा तेल उत्पादनमा वृद्धि, बढ्दो सञ्चिति र विश्वको माग वृद्धि कमजोर रहेकाले तेलको मूल्य धेरै बढ्न नसकेको तेल व्यवसायीहरूको भनाइ छ । एजेन्सी



