बीबीसी। दक्षिणी रुसको यास्ट्राखान सहरका एक बालक विश्वभ्रमणमा निस्किएपछि अहिले सामाजिक सञ्जालमा चर्चित भएका छन्। आफू विश्वभ्रमण गर्न हिँडेको भन्दै ती बालकले घरमा एउटा टिपोट लेखेर छोडेका थिए। त्यो भेटेपछि उनकी आमा प्रहरीलाई गुहार्न पुगेकी थिइन्।
केही घण्टामै एउटा टोलीले ती बालकलाई बाटोमा भेट्यो। रुसको गृह मन्त्रालयले आफ्नो वेबसाइटमा ती बालकसँग इन्साइक्लोपेडियाहरू (विश्वकोषहरू), एउटा खेलौना, एउटा केरा र खुत्रुकेको पैसा भेटिएको उल्लेख गरेको छ।
उद्धारकर्ताहरूलाई उनले यात्राबाट आफूलाई थकाइ लागेको र विश्राम गर्न मन भएको बताएका थिए। त्यति बेलासम्म उनी तीनवटा बस चढेर पैदल हिँड्दै थिए। उनीबारे सामाजिक सञ्जालमा धेरै चर्चा भयो। धेरैले ती बालकको लक्ष्यको प्रशंसा गरे।
‘यास्ट्राखानका एक आठ वर्षीय बालक पैदल नै विश्वभ्रमणमा निस्किन्छन्। तर म चाहिँ सहरको यात्रा गर्दा नै गुनासो गर्छु’ एक जनाले ट्विटरमा लेखे। ठट्यौलो पारामा अर्का ट्विटर प्रयोगकर्ता लेख्छन्, ‘यास्ट्राखानबाट बाहिर जाने उनको इच्छाको सम्मान गर्छु।’
भाषा पढाउने एउटा निजी विद्यालयले त ती बालकलाई निस्शुल्क एक वर्ष अङ्ग्रेजी पढाइदिने घोषणा गर्यो। ती बालकको कथा सार्वजनिक भएपछि धेरै व्यक्तिले आफू सानो छँदा कसरी (विश्वभ्रमण) गर्न खोजेका थिए भनेर संस्मरण गरेका छन्।
सामाजिक सञ्जालमा एक जना लेख्छन्, ‘बालक हुँदा मैले पनि यात्राअघि त्यस्तै टिपोट लेखेको थिएँ। तर यात्रा थाल्नुभन्दा अगाडि नै म शक्ति सञ्चय गर्न म पल्टिएँ र भुसुक्कै निदाएँ। पछि मलाई जाने अनुमति दिइएन।’
अर्को व्यक्तिले सङ्ग्रह गरेको खानेकुरा हजुरआमाले भेटेपछि विश्वभ्रमणको योजना तुहिएको थियो। यास्ट्राखानका ती बालकलाई कोन्युखोभ उपनाम दिइएको छ। फेडोर कोन्युखोभ एक्लै जोखिमपूर्ण यात्रा गर्ने प्रसिद्ध रुसी यात्री हुन्। पछिल्लो यात्रामा डुङ्गा खियाउँदै उनले चार महिना लगाएर दक्षिणी सागर पार गरेका थिए।
एक जनाले ट्ववीट गरेका छन्, ‘उनी ठूलो भएर कोन्युखोभ हुनेछन्।’ ती बालकको अनुहारमा कोन्युखोभको जस्तो दाह्री भएको मिम पनि ट्ववीट गरिएको छ र त्यसमा रुसी भाषामा लेखिएको छ – फेडोर कोन्युखोभ, प्रारम्भ।
https://twitter.com/mono_brov/status/1113109567393562624
तर केही टिप्पणीहरू नकारात्मक पनि छन्। केहीले रुसीहरू गरिब भएका र यात्रा गर्न नसक्ने भनेर पनि लेखेका छन्। ‘यो घटनाले मलाई दुःखी बनायो। किनभने आज अधिकांश रुसीहरूका लागि विश्वभ्रमण महँगो मात्र हैन, उनीहरू अर्को कुनै देशमा जाने खर्च गर्न पनि सक्दैनन्,’ एक व्यक्तिले ट्वीट गरेका छन्।
अर्को ट्वीटमा लेखिएको छः ‘वयस्क भएपछि यो विश्वभ्रमण काम गर्न जाने सामान्य यात्रामा सीमित हुँदा ती बालक छक्क पर्नेछन्।’ विश्वभ्रमणमा हिँडेका उनीजस्ता अरू बालबालिकाले पनि आफ्नो यात्रा पूरा गर्न पाएका छैनन्। सन् २०१८ मा अस्ट्रेलियाका एक १२ वर्षीय बालक एक्लै बाली पुगेर एउटा रिजोर्टमा चार दिन बसेका थिए।
उनले आफ्ना आमाबुवाको क्रेडिट कार्ड प्रयोग गरेर हवाई टिकट किनेका थिए र रिजोर्टमा पैसा तिरेका थिए। इन्डोनेशियाको प्रहरीले उनलाई फेला पारेर स्वदेश फर्काइदिएको थियो।



