बिष्णुप्रसाद पोखरेल
दमक/स्थानीय तहको निर्वाचनको सरकारले घोषणा गरेसंगै झापाका सबै नगरपालिका र गाँउपालिकामा प्रमुख को बन्ला भनेर बहस शुरु भएको छ । सबै प्रमुख पार्टीहरु आफ्नो तयारीलाइ तिब्र बनाएकाछन् । नव घोषित गौरादह नगरपालिकामा पनि यतिखेर नगरपालिकाको मेयरको उम्मेदवार को को बन्लान भनेर चिया गफ र अड्कल बाजि शुरु भएको छ ।
नेकपा एमालेको बर्चश्व र पकड रहेको यस क्षेत्रमा उद्योग बाणिज्य संघको निर्वाचन हातपारेपछि काँग्रेस पनि यहाँ उत्साहित छ । एमाले र काँग्रेसका उम्मेदवार को बन्लान भनेर बढि चर्चा छ । माओबादी केन्द्रका उम्मेदवारलाइ पनि चासो पूर्वक हेरिन्छ । एमालेबाट छत्रपति सुबेदीको नाम सबैभन्दा बढि चर्चामा रहेको छ । सम्भावित मेयरको उम्मेदवार उनै हुन् भनेर पार्टीका स्थानीय नेता देखि कार्यकर्तासम्मेले भन्न थालेकाछन् ।
तर अरुको कसरत पनि कम छैन । नेकपा एमालेबाट मेयरकालागि मदन अधिकारी पनि कस्सिएकाछन् । उनि पनि दाबेदार हुन् । नगेन्द्र भण्डारी, दुर्गा गौतम, योगराज दाहाल, बलराम खरेल लगायतका स्थानीय नेताहरुको पनि नाम आउने गरेको छ ।
आदिबासी जनजातिको र पुरानो कार्यकर्ताको रुपमा चन्द्र सुब्बाले पनि आफ्नो दाबेदारी बलियो रुपमा राख्नेछन् । उनले आफूलाइ टिकट दिए जितेर देखाउने पनि बताउदै आएकाछन् । पार्टीले सर्वसम्मत निर्णय गरे आफू बाधक नबन्ने तर आफू दाबेदार रहेको उनले कार्यकर्तामाझ बताउने गरेकाछन् । अन्त्यमा अधिकाँशले सुबेदीलाइ छाड्ने सम्भावाना रहेको छ ।
नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु उत्साहित भएर स्थानीय तहको निर्वाचनमा लाग्न शुरु गरेकाछन् । काँग्रेसभित्र सबैभन्दा बढि रोहित शाहको नाम चर्चामा रहेको सुनिएको छ । काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले अरु काँग्रेसका नेताहरुको नाम पनि चर्चामा ल्याउन थालेकाछन् । शाहको साथै काँग्रेसमा सम्भावित उम्मेदवारको रुपमा यादव सेढाइ र हेमन्त कार्कीको नाम पनि चर्चामा नै रहेको छ ।
शाह मेयरको उम्मेदवार नभएको अवस्थामा सेढाइ र कार्कीमध्ये एक हुने गौरादहमा चर्चा रहेको छ । बाणिज्य संघमा निर्वाचन जितेपछि स्थानीय तहमा पनि त्यसरी नै जित हासिल सकिएला की भन्ने काँग्रेस नेताहरुको बिश्लेषण रहेकाले पनि अहिले काँग्रेसमा मेयरको टिकटका लागि आँकाक्षिहरु बढ्न थालेको स्थानीय काँग्रेसका एक नेताले बताए । सर्वसम्मत रुपमा नै एकजनाको नाम आउने बताइन्छ ।
एकीकृत माओबादी केन्द्रले पनि स्थानीय तहको निर्वाचनमा मेयरमा कस्लाइ अघि सार्ला भनेर चर्चा शुरु भइसकेको छ । माओबादी केन्द्रबाट पुष्प ढकालको नाम सबैभन्दा धेरै चर्चामा रहेको छ । सम्भवत उनै मेयरको उम्मेदवार उठ्न सक्ने र कार्यकर्ताहरुले पनि उनकै चर्चा बढि गरेकाछन् । ढकाल नभएको अवस्थामा यस पार्टीबाट शेरबहादुर कार्कीको नाम पनि चर्चामा रहेको छ । स्थानीयहरुले कार्कीको नाम पनि बहसमा ल्याएकाछन् ।
यसैगरी राप्रपाबाट पनि को बन्लान उम्मेदवार भन्ने चर्चा छ । अमर बिष्ट, खेम तिम्सिना, भुपेन्द्र ढुगाना, भीमबादुर कार्की लगायतको नाम चर्चामा छ । बिष्ट नै बन्ने सम्भावाना प्रवल रहेको बताइन्छ ।



