काठमाडौं। स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौं संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन्। काठमाडौं किर्तिपुर निवासी २२ वर्षीया प्रसाईं ओम हेल्थ कलेज चाबहिलकी बिएससी नसिङको पास आउट विद्यार्थी हुन्। शिर्ष सहित ब्युटी विथ ब्रेनको उपाधि समेत हात पारेकी प्रसाईंले २५ प्रतियोगिलाई पछि पार्दै उपाधि चुमेकी हुन्। उनले नगद रु ५० हजार सहित बिभिन्न उपहार समेत प्राप्त गरेकी छन्।
शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेनमा सजाइएको भव्य स्टेज सेटअपमा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधि सहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधि सहित आकृति मानन्धर सेकेन्ड रनर अप घोषित भए। दुबैले क्रमश नगद ३० हजार र २० हजार सहित विभिन्न गिफ्ट समेत हात पारे।
नर्सिङ पेशामा संलग्न नर्सहरुको व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरुको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिंदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुति मार्फत् व्यक्त गर्ने उद्देश्य अनुरुप ‘मिस नेपाल पिस’ आयोजना हुँदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।
नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको सञ्चालन तथा कोरियोग्राफी रहेको थियो। प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डिसी बेष्ट वाक, प्रिति सुनामा वेष्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मोस्ट डिसिप्लीन, अनिता बस्नेत पब्लिक च्वाइस, नबिना महर्जन सोसियल्ली रेस्पोन्सीबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता चुनिए।
पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष केसी शो स्टपरका रुपमा रनवे प्रस्तुतिमा रहेका थिए। कार्यक्रममा आयोजक नेस्टस् मोडल्सले समाजसेवा अन्तरगत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशिल बाल सेवा परिवारलाई हस्तान्तरण गरेका छ।










