काठमाडौं। नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोप लागेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध 'रेड कर्नर नोटिस' जारी भएको छ। साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध 'रेड कर्नर नोटिस' जारी भएको हो। 'रेड कर्नर नोटिस' जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी हुने छ।

उक्त चलचित्र अभिनेत्री रेखा थापासँग मिलेर गौतमले बनाएका थिए। हाल क्यानाडामा बस्दै आएका गौतम दुई वर्षअघि अमेरिका मानव तस्करीमा तानिएका थिए। गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटीमा अलपत्र पारेका थिए। फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो। हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका छिराउने योजना रहेको पानीजहाज बिग्रिएपछि उनीहरु बहामास भन्ने देशमा पक्राउ परेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो। त्यहाँबाट अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो। अनुसन्धानकै क्रममा गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उनी अदालत उपस्थित नभएपछि नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)लाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा उनीविरुद्ध 'रेड कर्नर नोटिस' जारी भएको हो।डिसी नेपाल बाट