बिष्णुप्रसाद पोखरेल

दमक । झापा जिल्लामा ठूलासाना पसल र डिर्पाटमेन्टल स्टोरहरुमा नै दैनिक उपभोग्य मिति समाप्त भएका तथा कुनै प्रकारका लेवल टाँस नगरिएका खाद्य सामाग्रिहरु बिक्रि बितरण भइरहेकाले यसलाइ रोक्न चुनौती भएको बताईएको छ । उपभोक्ता जाँदा त्यहि सामान बिक्रि गर्ने र अनुगमनमा सरकारी कर्मचारीहरुपुग्दा फ्याक्नका लागि राखिएको भन्दै पन्छने गरेको भन्दै यसले समस्या उत्पन्न हुने गरेको सरोकारवालाहरुले बताएकाहुन् ।
दमक उद्योग बाणिज्य संघको आयोजना र खाद्य प्रविधि तथा गुण नियण्त्रण कार्यालय खाद्य निरिक्षण इकाइ झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै इकाइका प्रमुख तथा खाद्य निरिक्षक दिनेश ढुङ्गानाले झापाको दमक लगायतका सबै बजारहरुमा दैनिक उपभोग्य मिति समाप्त भएका र कुनै प्रकारका लेवल टाँस नगरिएका सामाग्रिहरु बिक्रि हुदा मानव स्वास्थ्यमा खेलवाड भइरहेको बताउनु भयो ।
ब्यापारीहरुले न्यूनतम् जिम्मेवारी र सावधानी नअपनाउदा अहिले उपभोक्ताहरुले गुणस्तरहिन सामाग्रि उपभोग गर्न बाध्य भएको समेत उहाँको भनाइ रहेको थियो । उपभोग्य मिति सकिएका र नसकिएका सामाग्रि एकैठाँउमा राख्ने गरेको पाईएको भन्दै यस्तो कार्य दण्डनिय भएको ढुङ्गानाले जनाउनु भयो । उहाँले भन्नुभयो–‘थोक बिक्रेतादेखि लिएर पसल तथा सुपरमार्केटमा समेत उपभोग्य मिति सकिएका र नसकिएका सामाग्रिहरु एकैठाँउमा राखिएको भेटिनु गै्रह् जिम्मेवारीपन देखियो ।’
गोदामहरुमा सामान संगै राख्ने र म्याद गुज्रेको भेटदा फिर्ता दिन भनेर राखिएको भनेर भन्ने गरेकोप्रति आक्रोश पोख्दै कहिकतै पनि कति फिर्ता गर्न राखिएको छ भन्दा जवाफ नपाएको उहाँले बताउनु भयो । उपभोक्ता आउदा त्यहि दिएर पठाउने गरेको समेत पाईएको भन्दै अब अनुगमन गर्दा कार्वाही गरिने समेत ब्यापारीहरुले ढुङ्गानाले सचेत गराउनु भएको छ । उहाँले भन्नुभयो–‘उपभोग्य मिति समाप्त भएको खाद्य पदार्थहरुलाइ बेग्लै भण्डारन गरेको त कहि पनि पाईएको छैन र यसलाइ गम्भिर रुपमा लिएको देखिएन ।’
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले दैनिक उपभोग्य मिति समाप्त भएका सामान बिक्रि गर्ने, लेवल टाँस नगरिएका सामाग्रि बिक्रि बितरण गर्ने लगायत कानूनले बन्देज गरेका कार्य गरेमा आफूहरुले कसैलाइ पनि कार्वाही हुनबाट नरोक्ने बताउनु भयो । प्रभावकारी रुपमा अनुगमन गर्न आग्रह गर्दै आफूहरुले अनुगमनमा आउनेहरु असहयोग नगर्ने र आवश्यकता परे सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले भन्नुभयो–‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेहरुलाइ हामी कुनै हालमा पनि बचाउन चाहादैनौ र कार्वाही गरेमा सहयोग गर्छौ ।’
अध्यक्ष ढकालले ब्यापारीहरुलाइ उपभोक्ता मैत्री ब्यापार गर्नका लागि सुझाव समेत दिनु भयो । डिर्पाटमेन्ट स्टोर र ठूला थोक बिक्रेताहरुकामा नै उपभोग्य मिति समाप्त भएका र लेवल टाँस नगरिएका सामाग्रिहरु दमकमा पाईएको सार्वजनिक हुदा आफूहरुलाइ पनि अप्ठेरो लागेको उहाँको भनाइ रहेको थियो । उहाँले भन्नुभयो–‘दमकका ब्यापारीहरुको नै बद्नाम हुने गरि यसरी काम नगर्न सबै ब्यापारीहरुलाइ मेरो अनुरोध छ ।’
होटल ब्यवसायि संघका क्षेत्रिय अध्यक्ष राजन दंगालले खाद्य सामाग्रि गुणस्तरीय बिक्रि नहुदा त्यसको असर होटल ब्यवसाय र ब्यवसायिमा पर्ने जनाउदै सबै यसमा सचेत हुनु पर्ने बताउनु भयो । आफूहरु होटलमा आएका उपभोक्ताहरुलाइ गुणस्तरिय खाद्य सामाग्रि ख्वाउन पाउनु पर्ने बताउदै बजारमा पाइने सामान नै गुणस्तरिय नहुदा समस्या हुने गरेको उहाँको भनाइ रहेको थियो । संघमा आवद्ध सबै होटलहरुलाइ गुणस्तरीय खाद्य सामाग्रि प्रयोग गर्न आफूहरुले भन्ने उहाँले जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय