विश्वचर्चित सेलिब्रिटी तथा अर्बपतिका सम्बन्धविच्छेद सधँै आम चासोको विषय रहँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, गायिका म्याडोना, गल्फर टाइगर वुडलगायत विश्वप्रसिद्ध व्यक्तिका डिभोर्स निकै चर्चित रहे। यद्यपि, सबैभन्दा महँगा सम्बन्धविच्छेदका सूचीमा भने उनीहरू पर्दैनन्। यी हुन्, इतिहासकै सबभन्दा महँगा १० सम्बन्धविच्छेदः

गत फेब्रुअरीमा संसारका सबैभन्दा धनी व्यक्ति अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोसले पत्नी म्याकिन्जीसँग सम्बन्धविच्छेद गर्ने बताए। त्यसपछि सुरु भयो, अनेक अनुमानका शृंखला। स्पष्टतः यो इतिहासकै महँगो सम्बन्धविच्छेद बन्ने थियो। सम्बन्धविच्छेदपछि जेफ संसारकै धनी नरहन पनि सक्थे।
म्याकिन्जी सबैभन्दा धनी महिला बन्न पनि सक्थिन्। तर, गत बिहीबार उनीहरूबीच सम्बन्धविच्छेदको शर्तमा सम्झौता भयो। दुवैले ट्वीटरमार्फत त्यसको जानकारी दिए। तर, अनुमान गरेजस्तो परिस्थिति उत्पन्न भएन। जेफ सबैभन्दा धनी नै रहने देखियो भने म्याकिन्जी तेस्रो धनी महिला बन्ने भइन्।
यद्यपि, यो हालसम्मकै सबैभन्दा महँगो सम्बन्धविच्छेद बन्ने चाहिँ पक्का छ। सम्झौताअनुसार म्याकिन्जीले अमेजनमा ३५ अर्ब डलरभन्दा बढीको सेयर लिनेछिन्। त्यस्तै उनले ‘द वासिंगटन पोस्ट’ र अन्तरिक्ष यात्रासम्बन्धी कम्पनी ‘ब्लू ओरिजिन’को दाबी भने छोड्नेछिन्। उनीहरूको सम्झौतालाई अदालतले मान्यता दिन बाँकी छ।
रोबर्ट एल जोन्सन–सिला क्रम्प जोन्सनः ४० करोड डलर
अमेरिकी उद्यमी तथा मिडिया पर्सनालिटी रोबर्ट एल जोन्सन र सिला जोनसनको सन्१९६९ मा विवाह भएको थियो। उनीहरू दुवैले ब्ल्याक इन्टरटेनमेन्ट टेलिभिजन नामक नेटवर्क स्थापना गरेका थिए। जोन्सन दम्पतीले स्थापना गरेका कम्पनी अश्वेत अमेरिकीबीच निकै लोकप्रिय भए र तिनको व्यापार पनि अकासियो। सन् २००० मा उनीहरू अर्बपति बने। उनीहरू अर्बपति बन्ने पहिलो अश्वेत अमेरिकी थिए। तर, २००२ मा उनीहरूबीच सम्बन्धविच्छेद भयो। सम्झौताअनुसार सिलाले ४० करोड डलर सम्पत्ति लिइन्।
यो सम्बन्धविच्छेदको रोचक पक्ष के रह्यो भने सिलाले अदालतमा आफ्नो सम्बन्धविच्छेदको टुंगो लगाउने न्यायाधीशसँगै सन् २००५ मा विवाह गरिन्।
मेल गिब्सन–रोबिन मुरः ४२ करोड ५० लाख डलर
मेल गिब्सन र रोबिन मुरको सम्बन्धविच्छेदलाई हलिउडको सबैभन्दा महँगो सम्बन्धविच्छेद भनेर चिनिन्छ। अमेरिकी अभिनेता तथा निर्माता मेल गिब्सन र अस्ट्रेलियाली अभिनेत्री रोबिनबीच सन् १९७० मा म्याड म्याक्सको पहिलो फिल्म बनाउँदा भेट भएको थियो। १९८० मा उनीहरूको बिहे भयो।
छ छोरा र एक छोरी गरी सात सन्तान जन्मिए। २८ वर्षको वैवाहिक सम्बन्धपछि रोबिनले सम्बन्धविच्छेदको निवेदन दिइन्। र, सम्बन्धविच्छेदका लागि मेल गिब्सनले आफ्नो जम्मा सम्पतिको आधा रकम ४२ करोड ५० लाख अमेरिकी डलर रोबिनलाई तिरे।
क्रेग म्याक्अ–वेन्डी म्याक्अः ४६ करोड डलर
क्रेग म्याक्अ सेलफोन उद्योगका जन्मदाता हुन् भने उनकी पत्नी प्रेस मालिक। सन् १९९७ मा भएको उनीहरूको सम्बन्धविच्छेदमा ४६ करोड डलरको सम्झौता भएको थियो। उनीहरूको सन् १९७४ मा बिहे भएको थियो। २१ वर्षको वैवाहिक जीवनमा उनीहरूका सन्तान भएका थिएनन्। क्रेगले १९९४ मा म्याक्अको सेलुलर एटी एन्ड टीलाई ११.५ अर्ब डलरमा बेचेका थिए। सम्बन्धविच्छेदको शर्त तयार गर्न दुवै पक्षका वकिलबीच निकै रस्साकस्सी चलेको थियो।
दिमित्री रिबोलोभ्लेभ–एलेना रिबोलोभ्लेभः ६० करोड ४० लाख डलर
रुसी व्यवसायी दिमित्री रिबोलोभ्लेभ फ्रान्सेली फुटबल क्लब मोनाकोका मालिक हुन्। उनले एलेनासँग सन् १९८७ मा विवाह गरेका थिए। दुई जना छोरीको जन्म र २५ वर्षको दाम्पत्य जीवनपछि उनीहरूको सम्बन्धविच्छेद भयो। सन् २०१४ मा एलेनाले छुट्टिन चाहेको भन्दै निवेदन दिइन्।
उनले दिमित्री बारम्बार परस्त्रीगमनमा लागेको, आफ्ना कलिला प्रेमिकाहरूसँग साथीभाइसँग मिलेर संयुक्त सम्बन्ध राखेकोजस्ता आरोप लगाएकी थिइन्। अदालतले सुरुमा दिमित्रीले एलेनालाई साढे चार अर्ब डलर रकम दिनुपर्ने आदेश दिएको थियो। तर, पछि सम्झौता हुँदा उनी ६० करोड ४० लाख लिएर सम्बन्धविच्छेद दिन तयार भइन्।
अदनान खसोग्गी–सोराया खसोग्गीः ८७ करोड ४० लाख डलर
अदनान खसोग्गी साउदी अरबका नामी हतियार व्यापारी हुन्। उनी गत वर्ष साउदीद्वारा टर्कीमा हत्या गरिएका चर्चित पत्रकार जमाल खसोग्गीका काका पनि हुन्। सन् १९६१ मा उनले २० वर्षीया बेलायती युवती सान्ड्रा डालीसँग बिहे गरे। सान्ड्राले मुस्लिम धर्म अपनाइन् र आफ्नो नाम सोराया राखिन्।
उनीहरू अत्यन्त सम्पन्न थिए। यो दम्पतीसँग १७ वटा घर, तीन वटा विमान र तीन वटा याट थिए। भनिन्छ, अदनान शक्तिशाली हुँदा आफ्नो जीवनशैली कायम राख्न हरेक दिन अढाई लाख डलर खर्च गर्थे। सन् १९७४ मा उनीहरूको सम्बन्धविच्छेद भयो। त्यसका लागि सोरायाले ८७ करोड ४० लाख डलर लिइन्।
यो त्यतिञ्जेलसम्मको सबैभन्दा महँगो सम्बन्धविच्छेद थियो। त्यो रकम अहिलको हिसाबले पनि दुई अर्ब डलरभन्दा बढी हुन जान्छ।
अदनान र सोरायाले एक छोरी र चार छोरा जन्माएका थिए। सन् १९७४ मा सम्बन्धविच्छेदपछि सोरायाले अर्की छोरी जन्माइन्। उनलाई अदनानकै सन्तान मानिँदै आएको थियो। तर, पछि १९९९ मा डीएनए परीक्षणपश्चात् उनी कन्जरभेटिभ पार्टीका नेता जोनाथन अट्किनकी छोरी भएको पुष्टि भयो।
ह्यारोल्ड ह्याम–सू आन अर्नालः ९७ करोड ५० लाख डलर
अमेरिकी तेल व्यापारी हुन्, ह्यारोल्ड ह्याम। उनले सन् १९८७ मा पहिलो पत्नी जुडिथ आनसँग सम्बन्धविच्छेद गरेका थिए। त्यसको अर्को वर्ष उनले सू आन अर्नालसँग विवाह गरे। सन् २०१२ मा सूले सम्बन्धविच्छेदका लागि निवेदन दिइन्। उनीहरूबीच लामो अदालती किचलो चल्यो।
ह्यारोल्डले आफू २००५ देखि नै पत्नीबाट अलग बसिरहेको दाबी गरे। ठूलो मिडियाबाजी पनि भयो। त्यसबेला ह्यारोल्डको कुल सम्पत्ति झण्डै २० अर्ब डलर पुगेको थियो। त्यति ठूलो रकमको अंशबण्डा हुन लाग्दा मिडियाको चासो हुनु स्वाभाविक पनि थियो। सन् २०१४ मा ओक्लाहोमाको एक अदालतले सूलाई साढे ९७ करोड ५० लाख डलर दिइनुपर्ने फैसला ग¥यो। एक वर्षसम्म सूले सो रकम लिन मानिनन्। अन्ततः सन् २०१५ मा उनले रकम लिइन्।
स्टिभ विन–एलेन विनः १ अर्ब डलर
खासमा स्टिभ र एलेन विनले आपसमा दुई पटक विवाह गरेका थिए। स्टिभ रियल स्टेट व्यवसायी हुन्। उनी लक्जरी क्यासिनो र होटल उद्योगका नामी व्यक्ति हुन्। एलेनले पनि मिराज रिसोर्ट र विन रिसोर्ट स्थापना गरेकी थिइन्। उनीहरूको सन् १९६३ मा पहिलो विवाह भएको थियो।
१९८६ मा उनीहरूको सम्बन्धविच्छेद भयो। फेरि १९९१ मा उनीहरूले बिहे गरे। सन् २०१० मा पुनः रेकर्ड मूल्यमा उनीहरूबीच सम्बन्धच्छिेद भयो। पछिल्लो सम्बन्धविच्छेदका विवरण गोप्य राखिए पनि यो एक अर्ब डलरको भएको अनुमान गरिएको छ।
बर्नी एक्लेस्टोन–स्लाभिका राडिचः १ अर्ब २० करोड डलर
बेलायतका सबैभन्दा धनीमध्ये एक हुन्, बर्नी एक्लेस्टोन। उनी सन् २०१७ सम्म फर्मुला वान ग्रुपका प्रमुख थिए। उनले हालसम्म तीन पटक विवाह गरेका छन्। पहिलो पत्नी आइभीसँग सम्बन्धविच्छेद गरेपछि उनले ताउना तानसँग १७ वर्ष विवाह नगरी सम्बन्धमा रहे। त्यसपछि क्रोएसियाली मोडल स्लाभिका राडिचसँग सन् १९८५ मा विवाह गरे।
उनीहरूको सम्बन्ध २३ वर्ष कायम रह्यो। सन् २००९ मा उनीहरूबीच १ अर्ब २० करोड डलरमा सम्बन्धविच्छेद सम्झौता भयो। तर, यो सम्बन्धविच्छेदमा देखिएको एउटा परिवर्तन के थियो भने बर्नीले स्लाभिकालाई होइन, स्लाभिकाले बर्नीलाई पैसा तिरेकी थिइन्।
रुपर्ट मर्डोक–अन्ना तोर्भः १ अर्ब ७० करोड डलर
मिडिया सम्राट रुपर्ट मर्डोक र पत्रकार पत्नी मारिया तोर्भ ३१ वर्ष वैवाहिक सम्बन्धमा रहे। उनीहरूले तीन सन्तान जन्माए। तर, सन् १९९९ मा उनीहरूले सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेदबाट तोर्भले १ अर्ब ७० करोड डलर प्राप्त गरिन्।
सम्बन्धविच्छेदको ठीक १७ दिनपछि रुपर्टले वेन्डी देङसँग विवाह गरेपछि अन्नाले पनि छ महिनापछि विलियम म्यानसँग विवाह गरिन्।
अलेक वाइल्डेन्स्टिन–जोसलिन वाइल्डेन्स्टिनः ३ अर्ब ८० करोड डलर
जेफ र म्याकिन्जी बेजोसको सम्बन्धविच्छेद टुंगो नलागुञ्जेलका लागि यो सम्बन्धविच्छेद सबैभन्दा महँगो रहनेछ। फ्रान्सेली–अमेरिकी व्यापारी अलेक वाइल्डेन्स्टिन र जोसलिनबीच सन् १९९९ मा यो सम्बन्धविच्छेद भएको थियो।
अलेकले जोसलिनलाई एकै पटक २ अर्ब ५० करोड डलर र त्यसपछि १३ वर्षसम्म हरेक साल १० करोड डलर तिर्नुपर्ने फैसला गरेको थियो।



