सरकारले आउँदो २०७४ वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै जिल्ला जिल्लामा निर्वाचनको माहौल सिर्जना भएको छ ।

स्थानीय निर्वाचन बिर्सिसकेका मतदाता २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा भाग लिन पाउने भएपछि दंग छन् । वैशाख ३१ मा २० वर्षपछि आफ्ना प्रतिनिधि आफैंले छान्ने अवसर जुर्दैछ । राजनीतिक दलहरूले पनि यही मौकामा आफ्नो स्थानीय तहमा आफ्नो पकडलाई सकेसम्म राम्रो बनाउन खोजिरहेका छन् । नेपाली राजनीतिका ‘हाइ प्रोफाइल’ नेताहरू केपी शर्मा ओली र कृष्णप्रसाद सिटौलाको जिल्ला झापामा स्थानीय निर्वाचनको चहलपहल शुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार झापामा स्थानीय निर्वाचनको माहौल सिर्जना भइरहेको छ ।

शान्तिपूर्ण तरिकाले स्थानीय निर्वाचन गराउनका लागि जिल्लाको सुरक्षा संयन्त्र अत्यन्तै चनाखो भएर बसेको उनले बताए । प्रजिअ खत्रीका अनुसार झापाका सबै राजनीतिक दलले स्थानीय चुनावलाई सहयोग गरिरहेका छन् । ‘जिल्लामा निर्वाचन भाँड्न खोज्ने कोही पनि छैनन्,’ उनले भने, ‘हामी शान्तिपूर्ण तरिकाले स्थानीय चुनाव हुन्छ भन्ने कुरामा ढुक्क छौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा पाँच लाख २१ हजार मतदाता छन् । तर यो संख्या चाहिँ केही घट्नेछ । १६ वर्षकै उमेरमा मतदाता नामावली रजिस्ट्रेसन हुने भएकाले १६ देखि १८ वर्ष उमेर समूहका केही घट्ने जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए ।

केन्द्रबाट मतदाताको अन्तिम नामावली अझै गइसकेको छैन । निर्वाचन केन्द्रको छिनोफानो भइसकेपछि मतदाताको संख्या, नामावली र केन्द्रको जानकारी जिल्लामा जानेछ । जिल्लामा दुई सय ८६ वटा मतदान केन्द्रहरू निमार्ण गर्नेगरी केन्द्रमा सिफारिश गरिएको छ । यसमा पनि केही संख्या थपघट हुन सक्छ । तर अधिकांश मतदाताले पहिलेकै केन्द्रबाट मतदान गर्न पाउनेछन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार वैशाख लागेसँगै मतदाता शिक्षालाई पनि अघि बढाउने तयारी भइरहेको छ । मान्छेले स्थानीय चुनाव के हो भन्ने बिर्सिसकेकाले व्यापक रूपमा मतदाता शिक्षालाई अघि बढाउने तयारी भएको आचार्यले बताए ।

जिल्लामा राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता लगायतका विषयमा जानकारी गराइसकिएको छ । दलहरू पनि आन्तरिक तयारमिा जुटिरहेका छन् । गाउँमा रहेका नेताहरूले टिकटका लागि लबिङ गरिरहेका छन् ।

तर उम्मेदवारहरूको छिनोफानो हुन बाँकी रहेकोले पार्टीहरूले आमसभाका कार्यक्रमहरू चाहिँ शुरु गरेका छैनन् । झापाका ७ निर्वाचन क्षेत्रमा १५ स्थानीय तह कायम भएका छन् । आठ नगरपालिका र ७ गाउँपालिका कायम भएका छन् ।

संबिधानसभाको निर्वाचनलाई हेर्दा झापा कुनै पनि दलको एकलौटी पकड रहेको जिल्ला होइन । झापामा माओवादीको तुलनामा कांग्रेस एमालेको अवस्था राम्रो भएको विश्लेषण गरिएको छ । संविधानसभाको निर्वाचनमा झापामा एमालेले चार सिट जितेको थियो भने कांग्रेसले तीन सिट जितेको थियो ।

संबिधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर एकबाट एमालेका रबिन कोइराला, दुईमा कांग्रेसका सुधीर कुमार सिवाकोटी, तीनमा कांग्रेसका कृष्णप्रसाद सिटौला, चारमा एमालेका प्रेमबहादुर गिरी, पाँचमा कांग्रेसका केशव बुढाथोकी, ६ मा एमालेका दीपक कार्की र सातमा एमालेकै केपी ओली विजयी भएका थिए ।  निर्वाचनको तयारीलाई लिएर जिल्लामा राजनीतिक दलको सक्रियता पनि बढ्दै गएको छ ।