हाम्रो जस्तो पुरुषप्रधान समाजमा यस्तो मान्यता छ । महिलाले बाइक लिएर हिँड्दा टक्क अडिएर जिब्रो टोक्दै ‘ओहो !’ भन्नेहरू अहिले पनि प्रशस्तै भेटिन्छन् । हेभी बुलेट बाइकको भुटुटुटुटु…..आवाजमा सवार पुष्पलटा आचार्य र लक्ष्मी खतिवडालाई देखेर समाज ‘अवाक्’ हुन्छ । साझा यातायात चालक रेबिका थापालाई देखेर ‘चकित’ हुन्छ । त्यस्तै, डोजरको सिटमा बसेर डाँडो खारिरहेकी मुना घिमिरेलाई देखेर ‘आश्चर्यचकित’ हुन्छ ।
उनीहरू जस्ता धेरै महिला यो समाजमा छन्, जसले हाम्रो जस्तो पुरुषको वर्चस्व रहेको समाजलाई थप अवाक्, चकित र आश्चर्यचकित बनाएका छन् । ६१ वर्षिया पुष्पलता आचार्य, आफूलाई कतै जानुपर्यो भने बुलेट बाइकनै प्रयोग गर्छिन् । आफ्नो छोराहरुसँग राइडमा गएको बेला स्कुटर चलाउँदा आफूलाई दुख लागेको उनी बताउँछिन् । ‘स्कुटर चलाउँदा अरुले उछिनेर जाँदा मनमा खिन्न भयो, अनि बाइक सिके’, आचार्यले भनिन् । आफ्नो टोलमा सिक्न अफ्ठयारो महशुश भएका कारण उनले पृथ्वी राजमार्गमा बाइक कुदाउन सिकिन् । अहिले उनी छोरासँगै उनका साथीहरुसँग राइडमा गइरहन्छिन् । हालै अब भारत जाने सोच बनाएको उनले भनिन् । उनी बाइकको गतिबारेमा भन्छिन्, ‘मेरो स्पिड अलि बढि छ । मलाई कमै व्यक्तिले उछिनेर अघि बढ्छन् ।’पुष्पलता संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्ति अन्दिप आचार्यकि आमा हुन् ।
को हुन् अन्दिप ? अन्दिप आचार्य नेपाली नागरिक हुन् । तर उनी संसारकै सर्बा्धिक ठूलो बाइक चढ्ने ब्यक्ति बनेका छन् । उनले हालै हार्ले डेभिडसनको भी८ चोपर किनेका छन् । इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिपको हुन पुगेको छ । उनी नटिंघममा गोर्खा किचेन नामक रेष्टुराँ सञ्चालन गरिरहेका छन् ।अन्दिपले यो बाइक ९० हजार पाउन्डमा किनेका हुन् । नेपाली बजारमा यसो अनुमान लगाउदा यसको मूल्य ३ करोड रुपैयाँ भन्दा माथि नै पर्ला । नेपालमा भए धेरै कर तिर्नु पर्ने हुन्छ । हामी अनुमान लगाउन सक्छौ, अन्दिप नै यति धेरै महंगो बाइक चढ्ने एक्लो नेपाली होलान् । हार्ले आफैमा एउटा प्रतिष्ठित र महंगो कम्पनी हो । यस्तो कम्पनीको महंगो बाइक चढ्नु आफैमा गजबको शोख हो ।
हार्ले डेभिडसनको सो बाइक ५७०० सीसीको छ । यसको तौल १००० केजी छ । अन्दिपले ठट्यौली पारामा भनेका छन्, ‘म ८० केजीको ब्यक्तिले एक हजार केजीको बाइकलाई सम्हाल्नु पर्ने भएको छ । जसरी पनि यसको लागि व्यवस्थापन गर्नु परेको छ ।’ अन्दिप बाइकका कति शौखिन हुन् भने यस अघि पनि उनले हार्ले डेभिडसनको बाइक आफैले डिजाइन गरी अमेरिकी कम्पनीलाई बनाउन लगाएका थिए । हार्लेको सो बाइकमा पछाडिको टायर संसारकै सर्बा्धिक ठूलो अर्थात ३३० एमएम र १२७ क्युबिक पिस्टनको थियो । सो बाइकको मूल्य ३९ हजार पाउण्ड थियो । अन्दिपले अहिले यही बाइक बेचेर फेरि नयाँ भी८ चोपर किनेका हुन् । रोचक कुरा के छ भने अन्दिप आफैले डिजाइन गरेको र ३९ हजार पाउण्ड मूल्य परेको सो बाइक हाल इंग्ल्यान्डमा यति चर्चित भयो कि ४५ हजार पाउण्डमा हारालुछका साथ यो बाइक बिक्री भयो । आफ्नो डिजाइनलाई यसरी धेरैले मन पराएकोमा आफू गौरवान्वित भएको अन्दिप बताउछन् । विगत १७ बर्ष यता अन्दिप हार्ले डेभिडसनको लाइफ मेम्बर छन् ।
उनकी श्रीमती मुक्ता आचार्य पनि हार्लेको लाइफ मेम्बर छिन् । अन्दिप यो अवस्थामा पुग्नुमा श्रीमतीको समेत महत्वपूर्ण भूमिका भएको बताउछन् । श्रीमती उनको एक असल साथी पनि हुन् । हार्ले राइडरहरु संलग्न रहेको क्लबमा ३५१ जना छन् । तर अन्दिप र उनकी श्रीमती मात्र एसियाली मुलका हुन् । उनीहरुको क्लबको नाम शेरउड च्याप्टर हो यो समूहले संसारभरि टुर गर्छ । आफू हार्लेमा अमेरिका र क्यानडा मात्र जान बाँकी रहेको दाबी गर्छन् ।अन्दिपसँग अहिले हार्लेका दुई वटा बाइक र एउटा रोयल इन्फिल्ड बुलेट ५०० पनि छ ।
बुलेट बाइक पनि उनले कस्टमाइजेसन गरी आफ्नै स्टाइलको बनाएका छन् । उनले आफूसँग भएको हार्लेको फ्याट ब्वाई १६०० सीसी भने कहिल्यै नबेच्ने बताउछन् । अन्दिप बाइकका शौखिन मात्र होइनन्, समाज सेवामा पनि उत्तिकै जागरुक छन् । नेपालमा २०७२ सालमा गएको भूकम्पको समयमा आफूसँग भएको डुकाटी र हार्ले डेभिडसनको अर्को बाइक राफलमा बेचेर नेपालका भूकम्पपीडितलाई सहयोग गरेका थिए । त्यो समयमा आफूले गरेको ४७ लाखको सो सहयोग सम्झिदा अहिले पनि आफूलाई गौरवको अनुभूति हुने गरेको उनले बताए ।नेपालको पर्यटन प्रवद्र्धनमा पनि अन्दिपले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । विगत ४ वर्ष यता उनले बाइक टुरको लागि इंग्ल्यान्डका १०÷१२ जना साथीहरुलाई नियमित रुपमा नेपाल पठाइरहेका छन् । आर्तिकल्स नेपाल बाट साभार









