काठमाडौं । जिल्ला इन्चार्ज, सहइन्चार्ज चयनमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारी नमिल्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

जिल्ला इन्चार्ज, सहइन्चार्ज चयनमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारी नमिल्दा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार नेपालसहित दुई अध्यक्षबीच बालुवाटारमा अनौपचारिक छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । प्रधानमन्त्री युरोप भ्रमणबाट फर्केपछि मात्रै यो विषयलाई टुंग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘तीनैजनाले गृहकार्य पुगेन, प्रधानमन्त्री विदेश भ्रमणबाट फर्केपछि इन्चार्ज र सहइन्चार्जसँगै एकीकरण र कार्यविभाजनका अन्य काम गरौँला भनेपछि मूल एजेन्डामा प्रवेश नगरी बैठक स्थगित भयो,’ प्रवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

बिहीबार बिहान ९ बजे बैठक बोलाइए पनि ओली, प्रचण्ड र नेपालबीच अनौपचारिक छलफल सुरु भएपछि बैठक ११ बजे सारिएको थियो । करिब दुई घन्टा छुट्टै अनौपचारिक छलफलपछि सवा ११ मा तीनै नेता बैठक कक्षमा प्रवेश गरेका थिए । तर, गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वयले बैठक स्थगनको सूचना दिएका थिए । प्रधानमन्त्री ओली शनिबार ९ दिने भ्रमणको सिलसिलामा युरोप प्रस्थान गर्दै छन् । उनी ३० जेठमा मात्र स्वदेश फर्किने कार्यक्रम रहेकाले सचिवालय बैठक असार पहिलो सातासम्म धकेलिएको छ ।

इन्चार्ज–सहइन्चार्जमा ओली–प्रचण्ड–नेपालको हिसाबकिताब
पार्टी एकतापछि पूर्वएमाले र पूर्वमाओवादीबीच संख्यात्मक भागबन्डामै विभिन्न तहका कमिटी र जनसंगठनहरूको एकीकरण टुंगो लागेको छ । पूर्वएमाले र पूर्वमाओवादी समूहबीच ५५ र ४५ प्रतिशतकोे अनुपातमा केन्द्रीय कमिटी भागबन्डा भएको थियो । त्यस्तै, प्रदेशको नेतृत्व ४ र ३, जिल्ला नेतृत्व ४४ र ३३ को संख्यामा बाँडफाँट भएको थियो भने जनसंगठनको नेतृत्व १५ र ७ को संख्यामा बाँडिएको थियो । मूल नेतृत्व नपाउने पूर्वसमूहलाई सहइन्चार्ज, सहसंयोजक वा सचिव पद बाँडिएको थियो ।

अहिले पार्टीका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज चयनका लागि भने सचिवालय बैठकमा पूर्वएमालेबाट ५० र पूर्वमाओवादीबाट २५ देखि २७ जना रहने गरी प्रस्ताव भएको स्रोतले जनाएको छ । ‘कुन जिल्लामा कुन समूहको अध्यक्षभन्दा पनि पछिल्लो निर्वाचनको परिणाम, सांगठनिक प्रभावलाई आधार मानेर इन्चार्ज र सहइन्चार्ज तोक्ने गरी नामावली प्रस्तुत गरिएको छ,’ उच्च स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘दुई अध्यक्षबीच समझदारी भएरै प्रस्ताव आएकाले थप गृहकार्यपछि पारित हुन्छ ।’ महासचिव विष्णु पौडेलले भने सम्बन्धित जिल्लाकै नेतालाई इन्चार्ज तोक्ने गरी छलफल चलिरहेकाले बैठकमा प्रस्तुत सुझाबका आधारमा अन्तिम निर्णय हुने बताए ।

पूर्वमाओवादी समूहबाट प्रचण्डले प्रस्ताव गरेको नामावली नै लगभग अन्तिम हुने भएकाले समस्या छैन । पूर्वएमाले समूहमा भने प्रदेशका पदाधिकारी चयनबाहेकमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसमेतको सहमतिमा नामावली प्रस्ताव गर्दै आएका छन् । तर, जिल्ला इन्चार्ज र सहइन्चार्ज चयनमा ओलीले आफूसँग छलफल नगरी प्रस्ताव ल्याएपछि नेपाल सशंकित छन् । अझ दाङमा सातजना र केही जिल्लामा दुईजनाभन्दा बढी सहइन्चार्ज प्रस्ताव गरिँदा भएको विवादले सांगठनिक काम लथालिंग हुने भन्दै नेपालले विरोध जनाएका छन् । त्यस्तै, मोरङमा जिल्ला अध्यक्ष विनोद ढकाललाई नै इन्चार्ज प्रस्ताव गरिएकामा पनि बैठकमा विरोध भएको छ ।

अध्यक्ष ओलीले भने प्रदेश पदाधिकारी र सदस्य तथा जिल्ला अध्यक्ष चयनमा दोहोरो जिम्मेवारी नदिइने मापदण्ड लागू नभएकाले अहिलेको प्रस्तावमा हेरफेरको आवश्यकता नरहेको अडान राख्दै आएका थिए । तर, प्रचण्ड र नेपालसँग बिहीबारको छलफलपछि केन्द्रीय विभाग गठनसहित समग्र कार्यविभाजन एकैपटक गरेर अहिलेको प्रस्तावमा नेपालका सुझाबलाई पनि समेट्न ओली लचक बनेको स्रोतको भनाइ छ ।

नारायणकाजी श्रेष्ठ भन्छन् ‘अनौपचारिक छलफल सकिएपछि तीनैजना नेताहरू गृहकार्य पुगेन भन्ने निष्कर्षमा पुग्नुभयो । उहाँहरूले प्रधानमन्त्री विदेश भ्रमणबाट आएपछि बसौँ अनि त्यतिवेला इन्चार्ज र सहइन्चार्जका साथसाथै अरू संगठनात्मक एकीकरण र कार्यविभाजनको समग्र काम गरौँला भनेपछि मूल एजेन्डामा प्रवेश नगरी बैठक स्थगित भयो ।’

पूर्वएमालेले जिल्लामा पाएको ४४ अध्यक्ष र ३३ सचिवमध्ये ओली समूहका २४ र नेपाल समूहका १६ छन् । चारजना भने तटस्थ छन् । सचिवमा पनि नेपालनिकट २२ र ओली निकट ८ तथा बाँकी तटस्थ छन् । वरिष्ठ नेता नेपाल र महासचिव पौडेल रहेको कार्यदलले जिल्ला अध्यक्ष र सचिवहरूको नामावली टुंग्याएको थियो । भूगोलको संगठनमा ओलीसँग हाराहारीकै शक्ति सन्तुलन रहेकाले वरिष्ठ नेता नेपाल आफूसँग कुनै परामर्श नगरी अध्यक्ष ओलीले इन्चार्ज र सहइन्चार्जको नाम सीधै सचिवालयमा प्रस्तुत गरेकामा चिढिएका छन् । स्रोतका अनुसार गत आइतबार जरुरी छलफलका लागि भन्दै बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले नेपाललाई आधा घन्टासम्म कुराएर पनि भेट दिएका थिएनन् । त्यसपछि बाहिरिएका नेपालले जिल्ला इन्चार्ज र सहइन्चार्ज चयनमा आफूलाई एकलौटी पेल्न खोजेको निकटस्थहरूलाई बताउँदै आएका छन् ।

कुनै अधारविना मनोमानी तरिकाले नाम प्रस्तुत भएका कारण मापदण्डका आधारमा मात्र टुंग्याउनुपर्ने अडान नेपालले राखेको उनीनिकट एक नेताले बताए । ‘कुनै मापदण्डविनै आफूलाई मन परेका व्यक्ति जतिसुकै कनिष्ठ भए पनि इन्चार्ज र सहइन्चार्जमा प्रस्ताव गरेर कतै जिम्मेवारी नभएका वरिष्ठहरूलाई चाहिँ छानी–छानी पाखा लगाउने गरी प्रस्ताव आएकाले उहाँले निश्चित मादपदण्डका आधारमा टुंगो लगाउनुपर्ने प्रस्ताव गर्नुभएको हो,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘कसको कति संख्या भन्ने अंकगणितको हिसाब नै होइन, पार्टीलाई विधि, प्रक्रिया र मापदण्डअनुसार सञ्चालन गरेर नेता–कार्यकर्ताले सामाजिक न्यायको अनुभूति पाउनुपर्छ भन्ने मूल प्रश्न हो ।’ ती नेताका अनुसार नेपालले संघ, प्रदेशका मन्त्री, संसदीय समितिका सभापति र नगरपालिकाका मेयरलाई इन्चार्ज तथा सहइन्चार्ज तोक्न नहुने अडान राखेका छन् । त्यस्तै, जिल्लाका वरिष्ठहरूलाई प्राथमिकतामा राख्नुपर्ने, एक जिल्ला एक सहइन्चार्ज तोक्नुपर्नेजस्ता अडान उनले राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय