सुन, संसारको सबैभन्दा महँगो धातु मध्येको एक । तोलाकै ५० हजारभन्दा माथी मूल्य तिरेर किन्दैछन्, नेपालीहरु । बिडम्बना, नेपालमा सुनको गुणस्तर मापन भने ब्यापारीको जिब्रोले गर्छ ।

व्यवसायीले २२ क्यारेट भने २२, २४ क्यारेटको भने २४ नै हुन्छ, सुनको शुद्धता । अर्थात्, व्यापारीले जति भन्यो त्यहि नै सद्दर । कारण, मुलुकमा यति महँगो सुनको गुणस्तर नाप्ने कुनै आधिकारिक प्रविधि वा मापदण्ड नै छैन् । त्यसैले उपभोक्ताले विश्वासकै भरमा आँखा चिम्लेर सुनको कारोबार गरिरहेका छन् ।

नेपाली समाज तथा संस्कृतिमा पनि सुनको ठूलो प्रभाव छ । त्यसकारण सुनको बजार राम्रो छ । तर, विडम्बना व्यवसायीले २२ क्यारेटको सुनलाई २४ क्यारेट भनेर बिक्री गरे पनि उपभोत्ताहरुले मान्नैपर्छ । त्यो छुट्याउने कुनै मापदण्ड अहिलेसम्म नेपालमा नभएकोले व्यवसायीले भनेकै आधारमा सुन किन्न बाध्य छन् ।

एक व्यवसायीका अनुसार नेपालमा २४ क्यारेटको सुन नै आउँदैन आए पनि पसलबाट किनबेच नै हुदैन । “नेपालमा २४ क्यारेटको सनु पाउन अत्यन्तै गाह्रो छ” नाम उल्लेख नगर्ने सर्तमा एक चर्चित सुनचाँदी व्यवसायीले भने, “तर बजारमा भने २४ क्यारेट भनेर सुन बिक्री भइरहेको छ, गरिरहेका छौ ।”

बजारमा सुनचाँदीको शुद्धतामा प्रश्न उठिरहेको भए पनि सरकारी निकाय भने मौन छ । अहिलेसम्म सरकारले सुनको शुद्धता नाप्ने प्रविधि समेत लागु गर्न सकेको छैन । सुनको शुद्धता नाप्ने “हलमार्किङ” प्रविधि लागु गर्न न ठूलो बजेट चाहिन्छ न त धेरै जनशक्ती नै।

सुनको शुद्धता नाप्ने “हलमार्किङ” प्रविधि हुँदाहुँदै पनि उपभोक्ता विश्वासको भरमा सुनको कारोबार गर्नु परेको छ । अहिलेसम्म नेपालमा सुन र चाँदीको शुद्धता नाप्ने “हलमार्किङ” लागु हुन सकेको छैन । सरकारले “हलमार्किङ”को प्रावधान ल्याउने भनेको वर्षौं भइसकेको छ र व्यवसायीले पनि “हलमार्किङ” लागु गर्न माग गरिरहेका छन् । तर पनि लागु हुन सकेको छैन ।

हलमार्किङ लागु भएमा सुनको शुद्धता, प्रमाणीकरण लिएको मिति, एनएस चिन्ह र हलमार्क परीक्षण गर्नेको नाम उल्लेख गरिनेछ । उपभोक्ताले पनि हलमार्किङ भएको छ कि छैन भनेर हेरेर मात्र सुनचाँदी किन्न सक्नेछन् ।
“हलमार्किङ” लागु गर्ने जिम्मेवार निकाय गुणस्तर तथा नापतौल विभाग हो । विभागले “हलमार्किङ” गर्ने मेसिन ल्याउन टेन्डर भएको बताएको पनि बर्षौं भइसकेको छ ।

उद्योग मन्त्री नविन्द्रराज जोशी भने दक्ष जनशक्तीको अभावले गर्दा “हलमार्किङ”को काम हुन नसकेको बताउँछन् । “पहिला जिम्मेवारी लिइयो तर यो काम गर्ने दक्ष व्यक्ती र आवश्यक जनशक्ती नभएको भन्ने कुरा आएको छ” जोशीले भने ।

विभागले “हलमार्किङ” गर्ने मेसिनको खरिद गर्नकै लागि दुई तीन पटकसम्म टेन्डर गर्नु परेको बताउँदै आएको छ । अघिल्लो वर्षसम्म भने विभागले सुनचाँदीको शुद्धता नाप्ने “फायर एस्से” मेसिन ल्याउन सम्झौता भइसकेको जनाउदै आएको थियो । उक्त मेसिनको मूल्य जम्मा १५–१६ लाख रुपैया मात्र पर्छ ।

सुन, सुन मिश्रित धातु, गरगहनाहरूको शुद्धता विशिष्टता र नेपाल गुणस्तर (एनएस) चिह्न तोक्ने भन्दै तीन वर्ष पहिला नेपाल गुणस्तर परिषद्को ९२ औं बैठकले हलमार्किङ लागु गर्ने निर्णय गरेको थियो । सुन तथा चाँदी व्यवसाय व्यस्थित हुने उक्त प्रावधान लागु गर्न व्यवसायीले पनि आग्रह गर्दै आएका छन् ।

हलमार्किङको कार्यविधी बनिसकेको भनिए पनि सरकारले नै सुन तथा चाँदीका गहनाको शुद्धता परीक्षण गर्ने काम अहिलेसम्म सुरु गर्न सकेको छैन । हलमार्किङ लागु गर्ने भन्दै विभागले आफ्ना केही कर्मचारीलाई हङकङ पठाएर तालिम समेत गराएको थियो ।

हलमार्किङ लागु भएपछि सुन तथा चाँदीमा शुद्धता कति छ, सुन वा चाँदीको मात्रा कति छ, फलामको मात्रा कति छ भनेर जान्न सजिलो हुन्छ । अहिले पनि केही व्यवसायीले मेसिन त राखेका छन् तर तिनले सुनको शुद्धता एकिन गर्न नसक्ने व्यवसायी स्वयं स्विकार गर्छन् ।

हलमार्किङ लागु भएमा नेपालबाट गहना निर्यात गर्न समेत सकिने छ । अन्तर्राष्ट्रिय बजारमा ब्रान्डेड गहना हुनुपर्छ । त्यसको लागि हलमार्किङ नभइ हुदैन । निर्यातको लागि मात्र होइन, अन्य मुलुकबाट यहाँ घुम्न आउने पर्यटकले समेत सुनका गरगहना खरिद गर्ने भएकाले हलमार्किङ भएको गहनाको बिक्री धेरै हुने विश्वास लिइएको छ ।

यदी सरकारले हलमार्किङ प्रविधि ल्याएमा व्यवसायीले ग्राहकको सुविधा र विश्वासको लागि यो सुविधा लिन सक्छन् । जसलाई सरकारले बाध्यात्मक नियम लागु गर्न वा हलमार्किङ नभएको सुनचाँदीको गहना किनबेच नगर्ने निर्देशन दिन सक्नेछ । जसले गर्दा उपभोक्ताले शुद्ध सुन पाउन सक्नेछन् ।

नेपालमा वर्षेनी अर्बौं रुपैयाको सुन आयात हुदै आएको छ । गत आर्थिक वर्ष २०७२/७३ मा मुलुकमा १६ अर्ब ७ करोड ९५ लाख रुपैयाको सुन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा १३ अर्ब ५० करोड ३४ लाखभन्दा धेरैको सुन आयत भइसकेको छ ।

मुलुकमा सरकारी वैधानिक माध्यमबाट मात्र होइन, तस्करीबाट पनि ठूलो मात्रामा सुन आयात भइहरको छ । केही दिन अघि मात्र ३३ किलो तस्करी गरेर ल्याएको सुन समातिएको थियो । त्यसपछि पनि बेलाबेलामा तस्करीको सुन समातिरहेको छ । सरकारी वैधानिक बाटोभन्दा चोरबाटोबाट तस्करी सुन धेरै आएको तथ्य समेत समाचारमा आइरहेका छन् । यस्तो अवस्थमा बजारमा कारोबार भइरहको सुन कति शुद्धता छ भनेर नाप्न अनिवार्य भइसकेको छ।

आर्थिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर