काठमाण्डौ – लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको एउटा आप्रवासी थुनुवा केन्द्रमा लक्षित गरी गराइएको बम विस्फोटमा परि एक जना नेपाली युवकको ज्यान गएको छ । मंगलबार राति भएको बम विस्फोटमा परि २७ वर्षीय नेपाली युवक सन्तोष श्रेष्ठको ज्यान गएको इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

४० जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा ज्यान गएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आईओएम) लिबियाले आफूहरुलाई जानकारी गराएको त्रिपोलीस्थित नेपाली राजदूतावासका चार्ज डी अफेयर्स सुजन बिडारीले जानकारी दिनुभयो । श्रेष्ठका बारेमा विस्तृत जानकारी लिने प्रक्रिया चलिरहेको दूतावासले जनाएको छ । सन्तोष श्रेष्ठ सन् २०१८ को जनवरी १६ मा लिबिया प्रवेश गरेको थाहा हुन आएको राजदूतावासले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएको दुई महिनामा मात्रै लिबियाबाट २६ जना नेपालीको उद्दार भएको दूतावासले जनाएको छ । साथै आठ जनालाई बुधबार मात्रै उद्दार गरी टर्की हुँदै नेपाल पठाइएको छ । नेपाललगायतका देशबाट मानव तस्करी गरेर इटाली लैजान लिबियाको बाटो प्रयोग गरिँदै आइएको छ । त्यसबारेमा लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएको नेपाली टोलीले बुझिरहेको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

लिबियामा मंगलबार भएको आक्रमण जनरल खलिफा हफ्तारप्रति बफादार रहेको फौजले आक्रमण गरेको बताइएको छ र तीन महिनाअघि पनि हफ्तार समर्थित फौजले त्रिपोलीमा आक्रमण गरेको थियो । आक्रमणमा परि १३० जनाभन्दा बढी घाइते भएको आईओएमले जनाएको छ । आक्रमणमा मारिनेमध्ये अधिकांश अफ्रिकन आप्रवासी थिए । उनीहरु लिबिया हुँदै समुद्री बाटोबाट युरोप जान चाहन्थे ।