स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कमल गाउँपालिकाको अध्यक्षमा राजनीतिक तथा सामाजिक क्षेत्रमा स्थापित यूवा नेता हुकुमसिंह राईलाई उम्मेद्वार बनाउने कांग्रेस लखनपुरले निर्णय गरेको छ । लखनपुर गाउँ समितिका तर्फबाट कांग्रेसले अध्यक्ष पदका लागि राईको एकल नाम सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
तोपगाछी खण्डबाट समेत निर्णय भईसके पछि दुवै तर्फबाट आएका उम्मेद्वारका नाममा स्थानीय नेतृत्वले सहमति जुटाएर सर्वसम्मत उम्मेद्वार चयनका लागि क्षेत्रीय समितिमा पठाइने बताइएको छ। शुक्रबार तोपगाछी र लखनपुर दुवै गाउँ समितिको संयुक्त बैठक तोपगाछीमा बसेर उम्मेद्वारको बिषयमा अन्तीम निर्णय गरिने कांग्रेस स्रोतले जनाएको छ ।
साविक लखनपुर १ तथा हालको कमल गाउँपालिका वडा नं ५ निवासी राईको परिवारनै अघिल्लो पुस्तादेखि नै प्रजातान्त्रिक आन्दोलनमा थियो । उनी कांग्रेसको राजनीति संगै सामाजिक, शैक्षिक क्षेत्रमा स्थापित युवा व्यक्तित्व हुन् । एक ताका शिक्षण पेशा समेत सेवा गरेका राईले दमकमा एक दैनिक पत्रिका प्रकाशनको नेतृत्व समेत गरेका थिए । उनको नेतृत्वमा प्रकाशन आरम्भ भएको पिपुल्स टाईम्स दैनिक पत्रिका अहिले पनि चालू अवस्थामा छ । उनले सो पत्रिकालाई करीब ४ बर्ष नेतृत्व दिए ।
उनी मंगलमय उमाविका पूर्व अध्यक्ष, स्थानीय सगुन यूवा क्लबको संस्थापक अध्यक्ष, लखनपुर व्यापार संघको अध्यक्ष, स्थानीय मंगलबारे–धरमपुर– शिवगञ्ज सडकको लखनपुर खण्ड अध्यक्ष हुन् । मंगलबारे बजार पछिल्लो समय राईकै नेतृत्वमा नयाँ व्यवस्थापनका साथ विकास र विस्तार भएको छ । पूर्वमै स्थापित र आफ्नै भवन भएको नमुना सगुन युवा क्लबमा राईले नेतृत्व सम्हालिरहँदा सो क्लबले पुरानो खेल भलिबल खेलको प्रतियोगिता आयोजना गर्न शुरुवात गरेको हो । पूर्वाञ्चलस्तरीय हुँदै अन्तराष्ट्रियस्तरका प्रतियोगिताहरु सो क्लबले आयोजना गरिसकेको छ ।



