दमक/नेकपा माओबादी केन्द्रले दमकमा जसरी पनि मेयर जित्नका लागि आक्रमक रणनीति सहित घरदैलो शुरु गरेको छ । आज शनिबार दमकमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्दै आजबाट घरदैलो अभियान शुरु गरेको हो । मेयरका उम्मेदवार गगन पुरीले पत्रकार सम्मेलनमा अरु मेयरका उम्मेदवार डेट एक्सपायर औषधि भएको र बुढाखाडाहरुले केहि गर्न नसक्ने बताए । 
दमकलाइ नेपालको युरोप बनाउने आफूमा बाहेक अरुसंग क्षमता नभएको र आफू जस्तो नेतृत्वदायि भूमिका खेल्ने झापामा नै कोहि नभएकाले आफ्नो बिकल्प दमक नरहेको दाबी गरे । उनले दमकलाइ नेपालको नमूना बनाउने बिषयमा जापानको टोकियो, भारतको नयाँ दिल्लि र चीनको बेइचिङ संग सम्बन्ध भगिनी गाँस्नका लागि सम्बन्धित राजदूतसंग कुरा गर्दा ‘ग्रिन सिंगल’ आएको जनाए ।
आफूले यहाँबाट मेयर जितेमा फेरी दाबी नगर्ने र राष्ट्रिय नेता बनेर देशको नेतृत्व गर्ने दोर्याए । आफ्नो सम्भावाना र क्षमता त्यो देखेर नै नगरबासीले आफू मेयर भएको देख्न चाहेको पुरीको भनाइ थियो । उनले भने–‘यहि क्षेत्रबाट जितेर केपी ओली प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेकाले अब यहाँबाट आफूले जितेमा देशको नेतृत्व गर्ने खुड्किलो बनाउनेछु ।’
सोहि अवसरमा वडाध्यक्ष तथा वडा सदस्यहरुको नामवली समेत सार्वजनिक गरिएको छ । चुनावी अभियानका प्रचार समिति संयोजक सुरेन्द्र बस्नेतले आजबाटै घरदैलो अभियान शुरु हुने जानकारी दिए । उम्मेदवार सर्वसम्मत चयन भएको र अब चुनावी अभियान तिब्र गतिमा बड्ने उनले जनाएकाछन् । नगर इन्चार्ज कर्मा पुलामीको अध्यक्षतमा भएको कार्यक्रममा माओबादी नेता श्रीकान्त लगायतले घोषणापत्र सार्वजनिक गरेका थिए ।




