भारतकी पूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको निधन कार्डियक अरेस्टका कारण भएको पुष्टि भएको छ । उनलाई कार्डियक अरेस्टपछि एम्स अस्पताल लगिए पनि बचाउन सकिएन ।
के हो कार्डिएक अरेस्ट ?
कार्डियक अरेस्ट के हो, यो मानवीय शरीरका लागि किन यति खतरनाक साबित हुन्छ र यो हार्ट फेल वा हृदयघातभन्दा कसरी अलग हुन्छ ?
हार्ट.ओआरजीका अनुसार कार्डिएक अरेस्ट अचानक हुन्छ र शरीरले यसको कुनै लक्षण पनि देखाउँदैन ।
साधारणतया यसको कारण भनेको मुटुमा हुने विद्युतीय गडबडी हो जसले धड्कनको तामेल बिगारिदिन्छ ।
यस्तो हुँदा मुटुको पम्प गर्ने क्षमतामा असर पर्छ र यो दिमाग, मुटु वा शरीरको अन्य अंगमा रगत पुर्याउन सक्षम रहँदैन ।
कार्डियक अरेष्ट भएको केही मिनेट भित्रै मानिस बेहोस हुन्छ र धड्कन पनि आउने जाने भइरहन्छ ।
यदि सही समयमा सही उपचार नपाएको खण्डमा कार्डिएक अरेस्ट भएको केही सेकेन्ड वा मिनेटभित्रै मृत्यु हुनसक्छ ।
कार्डिएक अरेष्टमा मृत्यु निश्चित ?
ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार मुटुमा विद्युतीय संकेतको समस्याका कारण जब रगत पुग्दैन तब यो कार्डिएक अरेस्टमा परिवर्तन हुन्छ ।
जब मानिसको शरीरले रगतलाई पम्प गर्न बन्द गर्छ तब दिमागमा अक्सिजनको कमी हुन्छ ।
यस्तो हुँदा मानिस बेहोस हुन्छ र सास पनि क्रमशः कम हुन्छ ।
के कुनै लक्षण देखिन्छ ?
सबैभन्दा ठूलो समस्या भनेको कार्डिएक अरेष्ट आउनुअघि यसको कुनै लक्षण देखिँदैन ।
यसै कारण कार्डिएक अरेष्टका कारण मृत्युको खतरा थुप्रै गुणा बढ्ने गर्छ ।
यसको सबैभन्दा साधारण कारण असाधारण हार्ट रिदम बताइन्छ जसलाई विज्ञानको भाषामा भेन्टिकुलर फिब्रिलेशन भनिन्छ ।
मुटुको विद्युतीय गतिविधी यति धेरै बिग्रन्छ कि यसले धड्कन नै बन्द गरिदिन्छ र एक तरिकाले काँप्न थाल्छ ।
कार्डिएक अरेष्टका विभिन्न कारण हुनसक्छन् तर मुटुजन्य रोगले यसको आशंका बढाउने गर्छ । ती यस्ता छन्ः
– कोरोनरी हृदय रोग
– हृदयघात
– कार्डियोमायोप्याथी
– मुटुको भित्री भागमा समस्या
– मुटुका मांशपेशी सुन्निँदा
–लङ्ग क्यूटी सिन्ड्रोमजस्ता गडबडी
यसबाहेक केही अन्य कारण पनि छन् जसले कार्डिएक अरेष्टलाई निम्तो दिन सक्छन्, जस्तैः
– करेन्ट लाग्दा
– अत्यधिक लागुऔषधको सेवन गर्दा
– ह्यामरेज जसमा अत्यधिक रगत बग्छ
– पानीमा डुब्दा
यसबाट बच्न सम्भव ?
तर के कार्डिएक अरेष्टबाट बच्न सकिन्छ ?
पक्कै पनि । थुप्रै पटक छातीमार्फत् इलेक्ट्रिक शक दिँदा यसबाट बच्न सकिन्छ । यसका लागि डिफिब्रिलेटर नामक टूलको प्रयोग हुन्छ ।
यो साधारणतया सबै ठूला अस्पतालमा पाइन्छ । तर कार्डिएक अरेस्ट आउँदा डिफिब्रिलेटरको सहज उपलब्धता भएन भने के गर्ने ?
जवाफ हो सिपिआर । यसको अर्थ हो कार्डियोपल्मोनरी रिससिटेशन । यसमा दुबै हातलाई सीधा राखेर बिरामीको छातीमा मज्जाले दबाब दिइन्छ ।
यसमा मुखमार्फत् हावा पनि पुर्याइन्छ ।
यो हृदयघातभन्दा कसरी फरक ?
धेरैजसोले कार्डिएक अरेस्ट र हृदयघातलाई एउटै मान्छन् । तर यो साँचो होइन । दुबै भिन्न कुरा हुन् ।
हृदयघात यस्तो अवस्थालाई भनिन्छ जब कोरोनरी आर्टरीमा रगत जमेका कारण मुटुको माशंपेशीसम्म रगत जाने बाटो अवरोध पैदा हुन्छ ।
हृदयघात हुँदा अत्यधिक छाती दुख्छ । यद्यपि, थुप्रै पटक लक्षण कमजोर हुन्छ तर मुटुलाई क्षती पुर्याउनका लागि यो पर्याप्त हुन्छ ।
यसमा मुटुले शरीरको बाँकी अंगमा रगत पुर्याइरहेको हुन्छ र बिरोमी होसमा भइरहन सक्छ ।
तर जो व्यक्तिलाई पहिले नै हृदयघात भइसकेको छ भने उसलाई कार्डिएक अरेस्टको खतरा बढ्छ ।
तर कार्डिएक अरेस्टमा मुटुले तुरुन्त रगत पुर्याउन बन्द गर्छ जसका कारण व्यक्ति अचानक बेहोस हुने र सास पनि बन्द हुने गर्छ ।
हृदयघातमा बच्न सहज ?
हृदयघातमा आर्टरीको बाटो रोकिँदा अक्सिजन भएको रगत मुटुको एक विशेष भागसम्म पुग्दैन ।
यदि यसको बाटो तुरुन्त खोलिएन भने त्यसमार्फत् मुटुको जुन भागसम्म रगत पुग्छ त्यसले निकै क्षती पुर्याउन थाल्छ ।
हृदयघात हुँदा उपचारमा जति ढिलाई हुन्छ, मुटु र शरीरले त्यति नै क्षती व्यवहोर्नु पर्ने हुन्छ ।
यसमा लक्षण तत्काल पनि देख्न सकिन्छ र केही बेरपछि पनि । त्यसबाहेक हृदयघात हुँदा केही घण्टा वा केही दिनपछि सम्म यसको असर देख्न सकिन्छ ।
अचानक हुने कार्डिएक अरेस्टभन्दा भिन्न हृदयघातमा मुटुको धड्कन बन्द हुँदैन ।
त्यसकारण कार्डिएक अरेस्टको तुलनामा हृदयघात भएका बिरामीलाई बचाउन सकिने सम्भावन निकै धेरै हुन्छ ।
मुटुसँग जोडिएका यी दुबै रोगको एक आपसमा निकै गहिरो सम्बन्ध छ । समस्या यो पनि छ कि हृदयघातको क्रममा वा त्यसको उपचारको क्रममा पनि कार्डिएक अरेस्ट हुनसक्छ ।