कैलाली – जिल्लाको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधवारबाट शुद्धीकरण गरेको पानी वितरण शुरू गरेको छ । संस्थामा जडित फिल्टरको बुधवार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरू गरिएको हो ।
प्रतिघण्टा १ लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराए । ‘भौतिक, रासायनिक र जैविक ट्रिटमेण्ट गरेर पानी सप्लाई गर्छौं,’ कुँवरले भने, ‘नारायणपुर क्षेत्रको पानीमा आइरन बढी थियो आइरन घटाएर पानी सप्लाई हुन्छ ।’
नारायणपुरमा शुद्धीकरण गरेको पानी वितरण हुन थालेपछि कैलालीका ५ ठाउँका उपभोक्ताले शुद्धीकरण गरेको पानी खान पाएका छन् । २०५७ सालमा स्थापना भएको नारायणपुर खानेपानी संस्थाले २०७३ सालबाट उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । २ लाख २५ हजार लिटर क्षमताको ट्यांकीमार्फत त्यस क्षेत्रमा खानेपानी वितरण भइरहेको छ ।
‘टीकापुरका ६, ७ र ९ का केही वडामा पानी वितरण भइरहेको छ,’ उनले भने । नारायणपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी खनालले भने, ‘हालसम्म २०० घरपरिवारले मात्र धाराको पानी खाइरहेका छन् ।’
उनले खानेपानीका बारेमा उपभोक्ता सचेत नभएको गुनासो गरे । यसअघि उपभोक्ता समितिले धारा जडान गर्दा ३ हजार ८ सय रुपैयाँ लिने गरेको भएपनि अब ७ हजार रुपैयाँ लिने निर्णय गरेको बताइन्छ । मासिक १ सय रुपैयाँप्रति उपभोक्ता शुल्क लिने गरिएको छ । ५० प्रतिशत रोग खानेपानीकै कारणले लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
नारायणपुरमा शुद्धीकरण सहितको पानी वितरण हुन थालेपछि उपभोक्ता हर्षित भएका छन् । आइरन बढी भएको पानी पिउन बाध्य नारायणपुरका २ हजार परिवार वासिन्दा शुद्धीकरणबाट खानेपानी मापदण्डको पिउने पानीखानी पाउने भएका छन् । फिल्टर जडानले उपभोक्तालाई सचेत गराएको स्थानीयको भनाइ छ ।



