आश्विन ११, २०७३- फिल्म ‘लज्जा’ बाट नायिकाका रूपमा ब्रेक पाएकी शिल्पा पोखरेल पहिलो फिल्ममै आर्यन सिग्देलको जोडीको रूपमा देखिन पाइन् ।
निर्माता छवि ओझाले शिल्पामा जोखिम मोल्न चाहे । यस मानेमा पनि शिल्पा भाग्यमानी मानिन्छिन् । रेखा थापासँग अलग्गिएपछि छविले शिल्पालाई आफ्नो ब्यानरमा निर्माण भएको फिल्ममा भित्र्याएका हुन् । त्यसपछि उनै छविले शिल्पालाई दोहोरो भूमिकामा ‘हवल्दार सुन्तली’ मा खेलाए । दुवै फिल्मबाट सफलता हात पारेकी शिल्पा त्यसपछि सम्झना उप्रेती रौनियार निर्देशित ‘फागु’ खेलेपछि ‘वृन्दावन’ मा देखिइन् । पछिल्ला दुवै फिल्मले भने शिल्पाको करिअरलाई खासै माथि उठाएनन् । यतिबेला शिल्पालाई लिडमा लिएर फेरि निर्माता छवि ओझाले ‘किस्मत २’ लाई असोज २१ मा ल्याउँदै छन् । ऋषि लामिछाने निर्देशित ‘किस्मत २’ पहिले छविले नै रेखा थापालाई लिएर बनाएको हिट फिल्म ‘किस्मत’ को सिक्वेल हो ।
‘आजभन्दा ३० वर्षअघिको कथाबाट फिल्म सुरु हुन्छ,’ निर्देशक लामिछानेले कान्तिपुरसँग भने, ‘त्यो बेला जोमसोमदेखि मुक्तिनाथसम्म तीर्थालुलाई घोडामा ओसारपसार गर्ने परिवारमा मोटर बाटो खुलेपछि परेको समस्या र कमजोर आर्थिक अवस्थाले आरती नामकी एउटी युवतीले काठमाडौंसम्म गर्ने यात्रा नै फिल्म हो ।’
युवतीको भूमिकामा रहेकी शिल्पा काठमाडौंमा एक्लै कसरी संघर्ष गर्छे ? उसलाई कसले आड भरोसा दिन्छ ? सामीप्यराज तिमिल्सेनाले तयार पारेको पटकथाले बोल्नेछ । मुख्य भूमिकामा रहेकी शिल्पालाई अनस्क्रिन साथ पृथ्वीराज प्रसाईं र किशोर खतिवडाले दिएका छन् । पृथ्वीराज यसै फिल्मबाट डेब्यु गर्दै छन् । चार फाइट र पाँच गीतको सिक्वेन्स बुनिएको फिल्म मूलत: सूत्रबद्ध शैलीमै बुनिएको छ । फिल्ममा तीन मुख्य चरित्रसहित रामकुमार थापा, अञ्जु केसी, रश्मि भट्ट, सन्तोष पन्त लगायतको अभिनय रहेको छ । चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । ‘किस्मत २’ लाई मदन काश्यप घिमिरेले खिचेका हुन् ।
दसैंमा उत्सवको माहोलमा रमाउने दर्शकलाई हलसम्म तान्न तम्तयार देखिएका निर्माता छविका लागि यसपटक ‘छक्का पञ्जा’ को सुखद व्यापार सुखद हुने छैन । त्यसो त सोही मितिमा सरोज खनाल, जीवन लुइँटेल र वर्षा शिवाकोटी अभिनीत ‘सुब्बासाब’ को रिलिज पनि ‘किस्मत २’ को व्यापारमा भाग्य परीक्षण हुनेछ ।



