एजेन्सी । भारतस्थित उत्तर प्रदेशको बरेलीमा भएको एक घटना अहिले भारतभर चर्चामा छ । एक ५२ वर्षीय रिक्साचालकले फेसबुक एकाउन्टमार्फत तीन हजारभन्दा बढी युवतीहरुलाई प्रेमजालमा फसाएको घटना हो त्यो ।
ती रिक्सा चालक हुन् जावेद । उनी ५२ वर्षका छन् । उनले आफ्नो फेसबुक एकाउन्टमार्फत् यति धेरै संख्यामा युवतीहरुलाई प्रेममा पारे ।
जावेदले आफ्नो फेसबुकमा भारतका आईपिएस अफिसर नुरल हसनको फोटो लगाए । जब उनले आइपिएस अफिसर हसको फोटो लगाए तब उनलाई फ्रेन्ड रिक्वेस्ट आउन सुरु भयो ।
उनलाई त्यसरी फ्रेन्ड रिक्वेस्ट पठाउनेमध्ये अधिकांश युवतीहरु थिए । जावेदले ती युवतीहरुलाई ‘लभ रियाक्ट’ गर्न थाले । उता युवतीहरुले पनि जावेदलाई आइपिएस अफिसर हसन नै हो भन्ने ठानेर प्रेम प्रस्ताव राख्न थाले ।
जावेदका अनुसार पहिले फेसबुकमा उनका करिब ५०० साथी थिए । तर, जब आइपिएस अफिसर हसनका फोटो लगाए तब त्यो संख्या छिट्टै ५ हजारमा पुग्यो । त्यसमध्ये ३ हजारभन्दा बढी त केटीहरु मात्र छन् ।
जावेदलाई विभिन्न स्थानबाट विवाहको प्रस्ताव आउन थाल्यो । उता जावेदको श्रीमती तथा छोरा छन् । हल्काफुल्का अंग्रेजी बोल्न जान्ने जावेदले फेसबुक च्याटमा त्यसको उपयोग गरेको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रहरी पनि उनको फेसबुक च्याट देखेर अचम्ममा परेको थियो । प्रहरीले सोधपुछपछि उनलाई जेलमा रखेको छ । उनलाई हिरासतमा लिएर प्रहरीले अभियोग दर्ता गराएको पनि एक भारतीय मिडियाले समाचार प्रकाशित गरेको छ ।



