२८ भदौ, काठमाडौं । स्मार्टफोनको बजारमा विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल भित्रिएको छ । विश्वब्यापी बनेका ओप्पोका स्मार्टफोन नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो ।
काठमाडौंको हाटल याक एण्ड यतिमा एक भब्य समारोहका बीच ओप्पोलाई सार्वजनिक गरियो । भारतमा लोकप्रिय भइसकेका ओप्पोका स्मार्ट फोनहरुको मंगलबारदेखि नेपालमा पनि विक्री वितरण सुरु भएको हो ।
ओप्पोले पहिलो चरणमा नेपालमा ३ वटा मोबाइल सेट सार्वजनिक गरेको । ओप्पो-एफ १ एस, ए-३७ र नियो-७ नेपालमा सार्वजनिक गरिएका हुन् । नेपालमा टेलिसेलले ओप्पोका समार्टफोनको आधिकारिक विक्रीवितरण गर्ने छ ।
भिडियो हेर्नुस्
विश्वबजारमा निकै द्रुत गतिमा बजार हिस्सा बढाइरेको ओप्पोका स्मार्टफोनलाई नेपाली ग्राहकले पनि रुचाउने ओप्पोका ब्रान्ड म्यानेजर माइकल लिले बताए । नेपालमा तिब्र रुपमा बढिरहेको स्मार्टफोन बजारलाई लक्षित गर्दै ओप्पोले यहाँ बजार विस्तार गरेको उनले बताए ।
खासगरी सेल्फी क्रान्तिमा अग्रणी मानिने ओप्पोले १६ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको एफ वान एस मोडलसहित नेपाली बजारमा प्रवेश गरेको छ । यो सेट बिश्वबजारमा एक महिना पहिलेमात्र सार्वजनिक भएको हो ।
पछिल्लो समयमा एशियाली बजारमा एप्पल र सामसुङलाई कडा चुनौती दिइरहेको ओप्पो नेपाली बजारमा पनि प्रवेश गरेको हो ।
सन् २०१६ को दोस्रो त्रैमासमा आइपुग्दा ओप्पो चीनको दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड बनिरहेको छ । प्रबिधि बिश्लेषकहरुले एप्पल र सामसुङको खास प्रतिस्पर्धी हुवेइ वा शाओमी नभई ओप्पो हुने बताइरहेका छन् ।
ओप्पोले अघिल्लो बर्षको तुलनामा झण्डै १३६ प्रतिशतको बृद्धि हाँसिल गर्दै दोस्रो त्रैमासमा दुई करोड २६ लाख सेट स्मार्टफोन बिक्रि गर्न सफल भएको इन्टरनेशनल डाटा कर्पोरेसनको जुलाई पहिलो साता प्रकाशित तथ्याङ्कले जनाएको छ ।
सन् २०१५ मा उसले ५ करोड थान फोन बिक्रि गरेको थियो । गुणस्तर, डिजाइन, मार्केटिङ रणनीति र मूल्यका कारण ओप्पोले छोटो समयमै यस्तो सफलता हात पारेको हो ।
नेपालभन्दा अगाडि ओप्पोले भारत, इन्डोनेसिया र बंगलादेशजस्ता ठूला एशियाली बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । दक्षिण एसियामा पनि कम्पनीले आफ्नो बजारलाई आक्रामक रुपमा विस्तार गरिरहेको छ ।
ओप्पोले विश्वस्तरीय स्मार्टफोनलाई सुपथ मूल्यमै नेपालमा उपलब्ध गराएको छ । ओप्पोको एफ-१ एस स्मार्टफोन विश्वमै सबैभन्दा बढी रुचाइएकोमध्ये अग्रस्थानमा पर्छ ।
यसका केही खास विशेषताहरुले धेरैको ध्यान तानेको छ । यो सेल्फीका लागि विशेष फोन हो ।सोमबार नायक कर्मा र नायिका ऋचा शर्माले एफ-१ एसबाटै सेल्फी लिएर यसलाई सार्वजनिक गरेका थिए ।
ओप्पोका नियो-७ र ए-३७ पनि उत्तिकै आकर्षक स्मार्टफोन हुन् । नेपाल भित्रिएका फोनहरुका विशेषताले धेरैलाई लोभ्याउनेमा कम्पनी विश्वस्त रहेको टेलिसेलका म्यानेजर सुनिल कुमारले बताए ।
नेपाली बजारमा यसको मूल्य ३२ हजार ३ सय ९० रुपैयाँ निर्धारण गरिएको छ भने ए-३७ को २१ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा नियो-७ को मूल्य १४ हजार ९ सय ९० रुपैयाँ कायम गरिएको छ ।



