एजेन्सी । नेपाल सीमावर्ती भारतको बिहारमा स्थानीय प्रशासनले एक हात्तीविरुद्ध मुद्दा दायर गरेको छ । मोतीहारीको घरपालुवा एक हात्तीले आक्रमण गर्दा एकजना माउतेको मृत्यु भएपछि स्थानीय प्रशासनले हात्तीविरुद्ध मुद्दा दायर गरेको हो ।

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु र कयौँ घाइते भएपछि स्थानीय प्रशासनले हात्तीविरुद्ध मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मोतीहारी जिल्लाको कोटवामा गएको मंगलबार एक हात्तीले माउतेसहित गाउँलेलाई आक्रमण गरेको थियो ।
हात्तीबाट बच्नका लागि भाग्ने क्रममा तीव्र गतिमा आएको जिपसँग ठोक्किएर माउतेको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । बोलेरो जिप त्यहीँ कारणले अनियन्त्रित भएर पल्टिँदा ६ जना घाइते भएका छन् ।
माउते नै मरेपछि हात्ती नियन्त्रण बाहिर गएर गाउँ पस्यो । गाउँ पसेको हात्तीले ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन् । हात्तीलाई धेरै समयपछि अर्का एक माउतेले नियन्त्रणमा लिएर थिए ।
मृतकका भाइले उजुरी दिएपछि कोटवा थानामा हात्तीविरुद्ध मुद्दा दर्ता भएको हो । त्यस लगत्तै हात्तीलाई नजिकैको एउटा गाउँमा लगिएको छ ।
छिमेकी गाउँका एक व्यक्तिले पागल भएको हात्तीलाई अर्को गाउँमा बेचेको खुलेको छ । घरपालुवा उक्त हात्तीलाई अब जंगलमा छाड्ने निर्णय हुनसक्ने अनुमान गरिएको छ ।



