(झापा), ४ वैशाख । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सिंहरबारको अधिकार गाउँ गाउँमा आउने भएकाले निर्वाचनमा सबै सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।

बिर्तामोडमा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मन्त्री बुढाथोकीले सात दशक लामो सङ्घर्षपछि आएको संविधान कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलको कामको मूल्याङ्कन जनताले गर्ने बेला आएको बताउनुभयो । चार व्यक्ति–संस्था पुरस्कृत कार्यक्रममा प्रतिष्ठानले ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट झापाका अगुवा पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरेको छ । उहाँलाई रू एक लाख एक हजार एक सय ११ बाट सम्मान गरिएको थियो । त्यस्तै रु एक लाख एक हजार एक सय ११ राशिको ‘रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार’ महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई संस्थागत रुपमा प्रदान गरियो । संस्थाका अध्यक्ष मीना ढकाललाई उक्त पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१६’ बाट रू एक लाख एक हजार एक सय ११ सहित मानवसेवा आश्रमका रामजी अधिकारी सम्मानित तथा पुरस्कृत हुनुभयो । सो आश्रमले स्थापनाको चारवर्षीय अवधिमा पाँच सय ७५ भन्दा बढीलाई सडक पेटीबाट उद्धार गरी उपचार तथा पालनपोषण गरिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिष्ठानले ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’बाट काठमाडौँ चःमतिकी १५ वर्षीया सृष्टि महर्जनलाई रू ५१ हजार १११ सहित पुरस्कृत गरेको छ । संस्थाले नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि रू २१ हजार सहयोग गरेको छ । रासस