काठमाडौं, १५ असोज । सभामुख महरालाई यौन दुराचारको गम्भीर आरोप लागेपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन आग्रह गरेको छ ।

राजीनामा दिँदा निष्पक्ष छानबिनका लागि सहज वातावरण बन्ने बैठकको ठहर छ । घटना सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाएका थिए । सचिवालय बैठकमा पनि प्रचण्डले नै सभामुखलाई राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरेका थिए ।

त्यसमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि समर्थन जनाएपछि बैठकमा निर्णय भयो । त्यसअघि पनि ओलीले आफ्नै ढंगले घटना विवरण बुझिसकेका थिए । बैठकमा सबै नेताको एउटै स्वर भएको पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए ।

 

सभामुखसँग असन्तुष्ट थिए ओली
सभामुख कृष्णबहादुर महरासँग प्रधानमन्त्री केपी ओली पछिल्लो समय सन्तुष्ट थिएनन् । सभामुखका हैसियतमा सरकार र आफूलाई असहयोग गरेको ओलीको बुझाइ छ ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)सँग भएको सम्झौता कार्यान्वयनका लागि संसद्ले अनुमोदन गर्नुपर्छ । तीन महिनाअघि नै संसद्मा दर्ता भएको सम्झौता अझै अनुमोदन हुन सकेको छैन ।

त्यसमा महराले रुचि नदेखाएको ओलीको बुझाइ छ । ७९ अर्ब रुपैयाँबराबरको सो सम्झौता संसद्को केही दिनअघि अन्त्य भएको अधिवेशनबाटै अनुमोदन गर्न प्रधानमन्त्री ओलीले महरालाई आग्रह गरेका थिए । तर, पारित नगरी अधिवेशन अन्त्य गरेर महराले असहयोग गरेको उनको बुझाइ छ ।

ऊर्जा तथा यातायात क्षेत्रको पूर्वाधार निर्माणका लागि अमेरिकाले सो सहयोग घोषणा गरेको हो । सभामुख महरासँग प्रधानमन्त्री ओली रिसाउने अर्काे कारण पनि छ ।

गत २४ वैशाखमा संसद्लाई सम्बोधन गर्दै ओलीले विपक्षी सांसदलाई ‘निम्छरो’ भनेपछि संसद्मै हंगामा भयो । विपक्षीको मागअनुसार सभामुख महराले ओलीले बोलेका केही शब्द संसदीय मर्यादा विपरीत भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । यो कुरा ओलीलाई मन परेको थिएन ।

उपसभामुख पनि रुष्ट
प्रतिनिधिसभा, राष्ट्रिय सभा र सातै प्रदेशका उपसभामुखहरू महिला छन् । सभामुखले अधिकार नदिएको भन्दै उनीहरूले गुनासो गर्दै आएका छन् । गत मंगलबार काठमाडौंमा भेला गरी उनीहरूले संविधानले दिएको अधिकारसमेत आफूहरूले नपाएको गुनासो गरेका थिए ।

प्रतिनिधिसभाकी उपाध्यक्ष शिवमाया तुम्बाहाम्फेले बैठक प्रारम्भ र स्थगत गर्ने अधिकार समेत उपसभामुखलाई नदिएको भन्दै गुनासो गरेकी थिइन् । ‘उपसभामुखलाई हेपिएको छ, संघीय र प्रदेश संसद्को उपसभामुख चयन र बैठक सञ्चालनमा देखिएको व्यवहारले नै यी प्रश्नको जवाफ दिइरहेका छन्,’ बुधबार पत्रकार सम्मेलनमा उनले भनिन्, ‘संविधानमा भएकै प्रावधान पनि उपसभामुखले प्रयोग गर्न पाइरहेका छैनन् । सबै उपसभामुख महिला हुनुपर्ने संविधानमा लेखिएको छ र ?’

राजीनामापत्रमा सभामुखको भाषा : निर्दोष साबित हुने विश्वास
सभामुख कृष्णबहादुर महराले दिएको राजीनामापत्रमा ‘छानबिन प्रक्रिया नसकिएसम्मका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन् । आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठेपछि सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धानमा सजिलो होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् ।

तर, सशर्त राजीनामा आएको भन्दै केहीले त्यसमाथि पनि प्रश्न उठाएका छन् । महरानिकट स्रोतका अनुसार आफू चाँडै निर्दोष साबित हुने विश्वासका साथ उनले राजीनामापत्रमा यस्तो भाषा प्रयोग गरेका हुन् । उनको सचिवालयले सोमबार जारी गरेको विज्ञप्तिमा सिंहदरबारबाट दिउँसो २ बजे बालुवाटार छिरेपछि सभामुख कतै ननिस्किएको दाबी गरिएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय