खोटाङ / हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ ।

लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनही १० केजीका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बता्ए ।

'सुक्खाग्रस्त क्षेत्रका स्थानीयवासीको घरमा अहिले अन्नको दानासमेत छैन', उनले भने, 'खाद्यान्न अभावले दशैँ मान्नसमेत नपाउने भएपछि प्रतिघर १० केजीका दरले चामल वितरण गरिएको हो ।'

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तीमा मासिक रु १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गरिएको जनाएको छ ।

खडेरीले मकै छर्न नपाएका र छरिएको मकैको बिरुवासमेत मरेपछि नगरसभाबाटै खाद्य सङ्कट क्षेत्र घोषणा गरेको थियो ।

खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर ल्याएको छ । वडा नं ९ सल्लेबाट खाद्यान्न वितरण शुरु गरेको नगरपालिकाले सबै वडाका खडेरी प्रभावितलाई वितरण गर्ने जनाएको छ ।

मकै, कोदो, गहत, जुनेलो, फापर र मासभटमास मात्र फल्ने हलेसी क्षेत्रमा फौजी कीराले समेत आतङ्क मच्याएको छ । करीब दुई महीनाअघि फैलिएको अमेरिकन फौजी कीरा अझै नियन्त्रणमा नआएको स्थानीयवासीले बताएका छन् ।

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुक्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ ।

दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरी र फौजी कीराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् ।

खडेरीका कारण यस वर्ष जिल्लामा कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङ प्राविधिक सहायक हरिनारायण राईले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको छ ।