आसन्न स्थानीय तहको निर्वाचनका लागि झापामा कूल पाँच लाख १० हजार २१६ मतदाता छन्। तीमध्ये दुई लाख ५३ हजार ४१५ पुरुष र दुई लाख ५६ हजार ७९८ महिला छन्। पुरुषको तुलनामा महिलाको सङ्ख्या तीन हजार ३८३ बढी रहेको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ।
विस २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनभन्दा अगामी वैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा ५५ हजार ७४० मतदाता बढी छन्। दोश्रो संविधानसभाको निर्वाचनका लागि झापामा कूल चार लाख ५४ हजार ४७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले बताए।
यसैगरी सात गाउँपालिकामा एक लाख ६१ हजार ७१५ र आठ नगरपालिका तीन लाख ४८ हजार ५०१ मतदाता निर्वाचनमा सहभागी हुने बताइएको छ।
निर्वाचनका लागि झापामा ३८३ मतदानस्थल र ६३७ मतदान केन्द्र तोकिएको र सबै मतदातालाई मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम पनि हिजोबाट सुरु भएको छ। यसका लागि झापाका गाउँपालिका र नगरपालिकामा सामाजिक परिचालिका र विद्यालयका शिक्षक एवम् शिक्षिका परिचालन भएको प्रमुख आचार्यले बताए।
मतदाता शिक्षाका लागि ६३७ जना परिचालन भएको र उनीहरु निर्वाचन प्रचारप्रसार अवधिसम्म मतदातालाई मतदान गर्न अभिप्रेरित गर्ने, नमुना मतपत्रमा मतदान गर्न सिकाउने कार्यक्रम रहेको जनाएको छ।



