काठमाडौं/ नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ ।

यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बङ्गलादेश ऊर्जा सचिव स्तरीय त्रिपक्षीय बैठक बोलाउने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मङ्गलबार भारतको बैङ्गलोरमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठकमा भारतको विदेश मन्त्रालयले यस्तो बैठक तीन महिनाभित्र आह्वान गर्ने सहमति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

भारतका विद्युत् मन्त्रालयका सचिव एससी गर्ग र नेपालका ऊर्जा सचिव दिनेश घिमिरेको नेतृत्वमा सचिव स्तरीय बैठक सम्पन्न भएको थियो ।

आगामी वर्षको वर्षायाममै नेपालमा विद्युत् मागभन्दा धेरै उत्पादन हुने देखिएपछि सरकारले निर्यातका लागि गर्नुपर्ने पूर्वतयारीहरूलाई तीव्रता दिइरहेको छ ।

मङ्गलबार मात्रै न्यू बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन सामान लगानीमा व्यापारिक मोडलमा बनाउने गरी नेपाल–भारत सहमति भइसकेका छन् । त्यस्तै इनर्जी बैङ्किङ र भारतको डे अहेड मार्केटमा नेपाली बिजुली पु¥याउन पनि सो बैठकमा सहमति भएको थियो ।गोरखापत्र दैनिक