काठमाडौं/ राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको जानकारी दिए । ‘निगमको ओसाका उडान नियमित भइरहेको छ । अक्टोबरबाट दुईतर्फी यात्रुको संख्या बढेको छ । यात्रुको संख्या प्रति उडान १५० देखि २०० सम्म हुने गरेको छ । यसले हामीलाई उत्साहित बनाएको छ’, उनले भने ।

निगमले वाइड बढी ए–३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मङ्गलबार र शनिबार उडान भर्दै आएको छ । निगमले यो गन्तव्यमा गएको भदौ १२ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो ।

शुरुका दिनमा यात्रुको कमी रहे पनि पछिल्लो समय यात्रुको अकुपेन्सी क्रमशः बढिरहेको र व्यापार पनि सन्तोषजनक रहेको निगमले जनाएको छ । नेपालमा पर्यटकीय याम शुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा अहिले चलिरहेको गैरआवासीय सङ्घको नेपाली विश्व सम्मेलन, दशैं, तिहार तथा छठ पर्व आदिका कारण पनि निगमको ओसाका उडानमा अकुपेन्सी बढेको देखिन्छ ।

निगमले छिट्टै जापानको राजधानी टोकियोको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ । टोकियोमा नेपालीको बसोबास बाक्लो भएकाले त्यहाँबाट निगमको व्यापार पनि राम्रो हुने अपेक्षाका साथ निगमले आवश्यक तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय