काठमाडौँ/ राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको बाँकी काम ९ महिनापछि सुचारु भएको छ । केही दिनअघि सिनो हाइड्रो र मेलम्ची खानेपानी आयोजनाबीच ठेक्का सम्झौता भएपछि काम सुचारु गरिएको हो । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले कार्यस्थलमा ठेकेदार कम्पनी गइसकेको उल्लेख गर्दै काम सुचारु भएको बताए ।

‘ठेकेदारले दक्ष कामदार ल्याएपछि काम सुरु भएको छ’ उनले भने । सुरुङको बाँकी काम १२ महिनाभित्र र हेडवर्क्सको निर्माण १५ महिनाभित्र सम्पन्न हुने जानकारी खत्रीले दिए । ‘अब सम्झौता भएको मितिले १५ महिनाभित्र सबै काम सम्पन्न हुन्छ’ उनले भने । तर, १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गर्ने समयसीमा तोकिए पनि अस्थायी हेडवर्क्सबाटै मेलम्चीबाट सुन्दरीजलमा पानी ल्याएर राजधानीमा वितरण थालिसक्ने आयोजनाको लक्ष छ । आयोजना निर्माण गर्ने पूर्व ठेकेदार कम्पनी सीएमसीले गत पुसमा ठेक्का सम्झौता तोडेपछि काम अवरुद्ध भएको थियो । त्यसपछि सरकारले फाष्ट ट्याकबाट काम गर्ने निर्णय गरेको थियो ।

निर्णयसँगै ८ वटा ठेक्का सिधै स्थानीय भेन्डरलाई दिइएपनि सुरुङ र हेडवर्क्सको ठेक्का आह्वान गरेको थियो । हिमाल हाइड्रो र सिनो हाइड्रोबीच भएको प्रतिस्पर्धामा सिनोले सुरुङ र हेडवर्क्स निर्माणको ठेक्का पाएको हो ।

सम्झौताअनुसार सिनो हाइड्रोले ८५ करोड १ लाख लागतमा सुरुङ र १ अर्ब २ करोड ८२ लाख रुपैयाँ लागतमा हेडवर्क्स निर्माण गर्ने छ । २६ किमि सुरुङ खन्ने काम सकिए पनि सुरुङको आरसीसी ढलान सकिएको छैन । ‘२६ मध्ये जम्मा ५ किलोमिटर सुरुङमा आरसीसी ढलान भएको छ, पूरै सुरुङमा नटबोल्ट हाल्ने र भेन्ट सफ्ट कार्य पनि भएको छैन,’ खत्रीले भने । सिनोले काम समयसीमा अगावै सकाए १० प्रतिशत बोनस दिइने उनले बताए । समयभित्रै काम सिध्याए १० प्रतिशत बोनस पाउनेछ । तोकिएको सीमाभन्दा अघि काम सिध्याए प्रतिदिनको हिसाबले सिनोले बोनस पाउनेछ । यसरी समयअगावै काम सम्पन्न गरे सिनोले टनेल सम्मन्न गरेबापत् प्रतिदिन १२ लाख ७५ हजार र हेडवर्क्समा प्रतिदिन १५ लाख रुपैयाँ पाउनेछ । मन्त्रालयले करिब ९३ प्रतिशत काम सकिएको दाबी गरे पनि स–साना काम धेरै बाँकी छ ।

टनेल अडिट मार्ग तथा इचोक, थकनी र शिवपुरीमा भेन्टिलेटर, सुरुङभित्र प्लास्टर र ओपन कट इन्टेक निर्माण कार्य हुन सकेको छैन । ड्राइभर्सन टनेल, अस्थायी बाँध (कभर बाँध) निर्माण, स्थायी बाँध र इन्टेक संरचनासमेत निर्माण हुने सकेको छैन । अस्थायी बाँध निर्माण गरेर भए पनि १२ महिनाभित्र मेलम्चीबाट सुन्दरीजलमा पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । साथै अम्बानथान हेडवर्क्स जोड्ने पक्की पुल पनि निर्माण हुने सकेको छैन ।

‘ठेकेदारले इमानदार हिसाबले काम गर्नुपर्छ, अब खास समस्या पनि छैन, तीव्र रूपमा काम गरे सुन्दरीजलमा पानी पुर्‍याउन ढिलाइ हुँदैन,’ मन्त्रालयका सचिव माधवप्रसाद बेलबासेले भने । उनका अनुसार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र ९ वटा पानीपोखरी निर्माण भइसकेको छ । ‘समानान्तर हिसाबले जनताको घर घरमा पानी पुर्‍याउँछौं,’ उनले भने, ‘त्यही किसिमले प्रत्येक संरचना निर्माण भइरहेका छन् ।’ साथै, पाइप परीक्षण लगायत सरसफाइ काम पनि भइरहेको उनले बताए । सुन्दरीजलमा साढे ८ करोड लिटर पानी क्षमताको पानी पोखरी पनि निर्माण भइसकेको छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय