चितवन / आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा रु आठ अर्ब ५८ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ ।

गत वर्षको यसै अवधिमा रु सात अर्ब ४५ करोड ५१ लाख १३ हजार राजश्व सङ्कलन भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार चालू आर्थिक वर्षमा राजश्व विभागले तोकेको लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजश्व सङ्कलन भएको छ । विभागले तीन महीनाका लागि रु १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार राजश्व सङ्कलनको लक्ष्य दिएको थियो ।

चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु ५५ करोड सात लाख ५१ हजार बढी राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

चालू आर्थिक वर्षमा अन्तःशुल्कमा रु छ अर्ब ८१ करोड ५९ लाख ५० हजार, मूल्य अभिवृद्धिकरमा रु ५९ करोड ४८ लाख ५८ हजार, आयकरमा रु ५२ करोड ६० लाख ३१ हजार राजश्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार व्याज करमा रु चार करोड ७१ लाख ६० हजार, बहालकरमा रु एक करोड ७३ लाख १८ हजार, स्वास्थ्य सेवा करमा रु ४४ लाख पाँच हजार र शिक्षा सेवा शुल्कमा रु एक लाख ४२ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए ।

कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिएअनुसारको सङ्कलन गर्न कठिन भएको जनाएको छ ।

बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजश्व सङ्कलन हुन नसकेको हो ।