जुम्ला/ खलंगाको मुख्य बजारमा रहेको नेवा किचनमा भीषण आगलागी भएको छ । होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँ पुगेपछि आगो निभाइएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ ।

चन्दननाथ नगरपालिकाको दमकलले आगो निभाएको हो । शनिबार बिहान ९ बजतिर आगलागी भएको हो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफैले आगो लागेको देखेपछि तत्काल सुरक्षा अधिकारीहरुलाई खबर गर्नु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रशासन कार्यालयबाट एक घर पर रहेको होटलमा आगो लागेको देखेपछि प्रजिअ बञ्जाडेले तत्काल मेयर कान्तिका सेजुवाललाई फोन गर्नुभएको थियो । दमकल ५ मिनेटमै घटनास्थलमा पुगेको प्रजिअ बञ्जाडेले जनाउनुभयो ।

खबर आउनेबित्तिकै ५ मिनेटमै दमकल पुर्‍याउन सफल हुँदा जुम्लाको पुरै शहर जोगिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दमकलमा हरेक दिन पानी भरेर तयारी अवस्थामा राख्ने गरिएकाले सजिलो भएकाले जानकारी दिनुभयो । दमकलका चालक लेख न्यौपानले चाडै दमकल पुर्याएर क्षति कम गर्न सफल भएको जानकारी उहाँले दिनुभयो ।

यसैगरी चन्दननाथ नगरपालिका ५ का घरधनी नवराज श्रेष्ठको घरको माथिल्लो तला पूर्ण रुपमा जलेको र क्षतिको यकिन विवरण प्रहरीले संकलन गर्दै गरेको प्रहरी नायब उपरीक्ष (डीएसपी) कलालबहादुर धामीले जानकारी दिनुभयो ।उज्यालो अनलाइनबाट