काठमाडौं \चालू आवको पहिलो तीन महिनामा नेपालले भुटानसँग ५३ करोड ५४ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।
अघिल्ला दुई आवमा पनि नेपालको भुटानसँगको व्यापार घाटामै थियो । गत आव ०७५/७६ मा नेपालले भुटानसँगको व्यापारमा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नोक्सान व्यहोरेको थियो । आव ०७४/७५ मा नेपालको भुटानसँगको व्यापार १ अर्ब ५६ करोड १९ लाख रुपैयाँले घाटामा थियो ।

के आउँछ भुटानबाट ?
भन्सार विभागका अनुसार भुटानबाट नेपालले सुकेका फलफूल, जुस, जिप्सन, प्लास्टर, औषधि, मूर्ति, सिमेन्ट क्लिंकर, काठका सामग्री तथा किचेन वेयरलगायत आयात गर्दै आएको छ ।
के जान्छ नेपालबाट ?
नेपालले भुटानमा गार्मेन्ट, कार्पेट, दालमोठ तथा भुजिया, अगरबत्ती, साबुन, काठका सामग्री, पिठोलगायतका वस्तु निर्यात गर्दै आएको छ । दालमोठ तथा भुजिया, साबुन र पिठो नियमितजस्तै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।
व्यापार सन्तुलन बनाउने रणनीति बनाएका छौँ
नवराज ढकाल,सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
नेपालले अहिले रणनीति नै बनाएर उत्पादन तथा निर्यात वृद्धि र आयात प्रतिस्थापनका नीति तथा कार्यक्रमहरू अघि बढाएको छ । सोहीअनुसार हामीले निर्यातमा नगद प्रोत्साहन तथा केही वस्तुको आयातमा कडाइ गरेका छौँ । त्यस्तै, क्षेत्रीय तथा दुईपक्षीय व्यापार वार्तामा समेत हामीले व्यापार सन्तुलनलाई जोड दिँदै आएका छौँ । सार्कमा भारत र बंगलादेशबाहेकका मुलुकसँगको हाम्रो व्यापार स्थिर छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।



