बिबिसी / सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ ।

मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन् ।

प्रहरीले उनको घरमा छापा मारेर उनको एक २४ वर्षीय पूर्वविद्यार्थीको क्षतविक्षत शरीर भेटेको थियो ।

प्राध्यापक सोकोलभ फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ थिए । उनले फ्रान्सको सबैभन्दा सर्वोच्च पदक प्राप्त गरेका थिए ।

हत्या गरिएकी महिला सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको भएको बताइएको छ ।

प्रहरी विज्ञप्तिमा मोइका नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्धार गरिएको र हत्याको आशङ्कामा पक्राउ गरिएको बताइएको थियो ।

प्रहरी अधिकृतहरूले समाचार संस्था एएफपीलाई ती व्यक्ति प्राध्यापक सोकोलभ भएको पुष्टि गरेका छन् ।

सोकोलभले नेपोलियनमाथि थुप्रै पुस्तकहरू लेख्नुका साथै केही फिल्महरूमा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन् ।

फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलीटिक्सका सदस्य रहेका सोकोलभलाई शनिवार सो संस्थाबाट हटाइएको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय