एजेन्सी/ स्विटजरल्यान्डमा कृषकहरूले लगभग १४ वटा गाईहरूमा फिस्तुला वा कन्नुला फिट गरेका छन् । यो एक बाहिरी पाइपलाइन हो जुन गाईको पाचनप्रणालीसँग जोडिन्छ । यसको सहायताले कृषकहरू सजिलै गाईको पाचनप्रणालीलाई हेर्न पाउँछन् ।

गाईहरूमा कन्नुला फिट गरेपछि अनुसन्धान गरिएको थियो । कृषकहरूले गाईलाई प्राप्त पोषण अनि उसले खानेकुरा कसरी पचाउँछ भन्ने बारेमा थप बुझ्नका लागि यो प्रक्रिया अवलम्बन गरेका हुन् । यसले उनीहरूलाई कृषिका तरिका सुधार गर्न तथा पशुपालनमाथि ध्यान दिन सहयोग गर्छ ।
यो प्रविधि अन्तर्गत गाईको कोखामा आठ इन्चको कन्नुला राखिन्छ । कन्नुला पाचन प्रणालीमा पुग्छ अनि किसानहरूले यसलाई हेरेर खानेकुरा कसरी प्रोसेस गर्छ भन्ने देखिन्छ । यसको पुछारमा रबरको प्लग हुन्छ र यसलाई परीक्षणपछि बन्द गर्न सकिन्छ ।

यो अहिले परीक्षणकै चरणमा छ । गाईको पाचनप्रणालीमा जौ तथा अन्य खाद्यान्नका प्रकारहरूको परीक्षण भइरहेको छ । गाईले यी खाद्यान्नहरू कति राम्ररी प्रोसेस गर्छ भन्ने आधारमा थप अनुसन्धान गरिनेछ ।
कन्नुला छिराउँदा गाईको शल्यक्रिया गरिनछ अनि उसलाई निको हुनका लागि आरामको समय दिइन्छ । आरामपछि गाईमाथि विभिन्न खाद्यान्न परीक्षण गरिन्छ ।
यसले पशुपालनमा सुधार ल्याउनेछ । गाईका लागि थप स्वास्थ्यकर खाद्यान्न पत्ता लगाउन यसबाट सहज हुन्छ अनि गाईबाट हुने उत्पादन पनि राम्रो हुन्छ ।



