मेक्सिकोको एक पार्कमा एउटा भालुले एकजना महिलाको कपाल मुसारेको छ । घटनाको भिडियो यूट्युबमा अप्लोड गरिएपछि निकै चर्चा चल्न थालेको छ ।
कुल ५८ सेकेन्ड लामो भिडियोमा पार्कभित्र पर्यटकहरूको एक समूह हिँडिरहेको देखिन्छ । अनि दुईवटा काला भालुहरू केही फीट पर उभिरहेका हुन्छन् । भालु देखेपछि समूहका एक सदस्यको सल्लाहबमोजिम मानिसहरू शान्त भएर उभिन्छन् अनि भालुहरू उक्त क्षेत्रमा घुमिबस्छन् ।
त्यसक्रममा एउटा भालु मित्रवत रूपमा पर्यटकहरूमाझ आइपुग्छ । ऊ समूहमा यताउता हिँड्छ र दुईजना महिलाको पछाडि गएर उभिन्छ । अनि उभिएर उसले एक महिलाको कपाल मुसार्छ ।
चार दिनअघि शेयर गरिएको भिडियोले झण्डै दुई लाख भ्यु पाइसकेको छ र यो संख्या बढ्दो छ । मानिसहरूले भिडियोमा अनेकथरी कमेन्ट गरेका छन् । केहीले आश्चर्य व्यक्त गरेका छन् भने अन्यले यो परिस्थिति बिग्रन पनि सक्थ्यो भनी लेखेका छन् ।
भिडियो लोकप्रिय भएपछि सान्ता कातारिना सिभिल प्रोटेक्सनले एक सूचना जारी गरेर भन्यो, ‘उनीहरू नजिक नजानू, उनीहरूलाई नगिजोल्नू र खानेकुरा टाढै राख्नू । उनीहरूलाई खाना नखुवाउनू वा खाना नफाल्नू र कृपया उनीहरूलाई नहिर्काउनू,’ सूचनामा लेखिएको छ ।
चिपिनिक इकोलोजिकल पार्कमा यो घटना भएको हो र उसले पर्यटकहरूलाई जनावरको फोटो वा भिडियो नखिच्न पनि भनेको छ ।
https://youtu.be/q9rT7BCjDi8








