काठमाडौ / सिन्धुलीमाडी नगरपालिका–५ जमुनाटारमा बुधबार बिहानैदेखि ठूलो खैलाबैला सुरु भयो । छिमेकी गाउँ निबुवाटारबाट कसैले केटी भगाएर ल्याएको खबर टोल छिमेकमा फैलिएको थियो । बीपी राजमार्गबाट झन्डै तीन किमि मात्रै भित्र रहेको यो चुरेक्षेत्रको चुरो कुरोचाहिँ के थियो भने अभिनेता दयाहाङ राईले अभिनेत्री केकी अधिकारीलाई भगाएर साथीको घरमा लुकाउन ल्याएका थिए ।

छिनभरमै भगौटा जोडीलाई हेर्न मान्छेहरूको भीड लाग्यो । दयाहाङ र केकी भने साथी पासाङको घरमा भात खाँदै थिए । एक्कासि केकी जुरुक्क उठिन् र बाहिर आइन् । उनले त उल्टी पो गर्न थालिन् । हल्का लाज मानेको भावमा आँगनमा देखिएका दयाहाङले केकीलाई सुस्तरी भने– ‘उल्टीचाहिँ नगरिहालेको भए हुने ।’ थोरै लजाउँदै केकीले जवाफ दिइन्, ‘अनि आइहाल्यो त । के गर्नु ।’

यो दृश्य र गाइँगुइँ साँच्चिकै भने थिएन । फिल्म ‘घामपानी’ को छायांकनस्थल भेला भएका दर्शक र फ्यानहरूका लागि चाहिँ यो निकै रमाइलो दृश्य थियो । एक साताअघि सुटिङका लागि सिन्धुली पुगेका ‘घामपानी’ युनिटका क्याप्टेन थिए, सञ्चारकर्मी दीपेन्द्र लामा । यो दृश्यको योजनाकर्ता र स्रष्टा पनि उनी नै थिए । लामो समयदेखि ‘खरो फिल्मी समीक्षा’ गर्दै आएका लामा यसपटक आफैं फिल्मको ‘मैदान’ मा ‘खरो’ उत्रिएका हुन् । ५० जनाको सुटिङ युनिटसहित सातादेखि ढुंग्रीबासमै बास बनाएका दीपेन्द्र निर्देशन क्रममा भने कुल थिए । उनलाई छायांकनमा सघाइरहेका टोली चाहिँ असिनपसिन । ‘काम गर्ने शैली त लामाको राम्रो,’ प्रोडक्सन म्यानेजर मणिरणम पोखरेल भन्दै थिए, ‘सबै हिसाबले फ्री भएर काम गर्ने शैली ।’

केकीचाहिँ शारीरिक अस्वस्थताका बाबजुद पनि काममा जोतिरहेकी थिइन् । दयाहाङसँग पहिलोपटक उनी अपोजिट रोलमा देखिन लागेकी हुन् । तैपनि यी दुईको हिमचिम निकै लोभलाग्दो थियो । उल्टी गर्नुपर्ने दृश्यमा पाँचपटक जाउलो मुखमा हालेर फ्याँक्नु परेकी केकीको जसै अन्तिम टेक लिइयो, दयाले क्यामेराको फ्रेमभन्दा बाहिर हात मिलाउँदै भने, ‘ल बधाई छ, आमा बन्न लागेकोमा ।’ केकीले पनि जिस्किँदै अनुहार बिगारेको झैं नखरा गरिन् । उल्टीको क्लोजअप सट लिइसकेपछि पनि दयाहाङले केकीलाई जिस्काउन भ्याए । ‘बिहे भएको भर्खरै चाररपाँच दिन भयो,’ दया पटकथाभन्दा बाहिरको संवाद बोल्दै थिए, ‘राँगाको मासुमा बानी पारौं भनेको, उल्टी गरिहाल्यौ नि ।’ यसपटक केकी हाँसिन् मात्र ।

गाउँको एक तामाङ मास्टरले बाहुनकी छोरी भगाएपछि आइपर्ने समस्या र त्यसपछि उत्पन्न हुने समाजको प्रतिक्रियामाझ अघि बढ्ने प्रेमकथा यो फिल्ममा हुने निर्देशक दीपेन्द्रले जनाए । ‘जाति–जातिबीच सहअस्तित्वको स्वीकार्यता र जातीय सद्भावलाई प्रेमकथाको मालामा उन्न खोजेको हुँ,’ पटकथासमेत आफैले लेखेको लामाले भने ।

केकीले पनि अन्तरजातीय बिहेको सन्दर्भले हाम्रोजस्तो बहुजातीय समाजमा निकै ठूलो अर्थ राख्ने बताइन् । ‘एकदम उत्साहित छु,’ उनले भनिन्, ‘रमाइलो लागिरहेको छ । फिल्मको चरित्र पनि निकै रमाइलो छ ।’ उनी फिल्ममा पीताम्बर शर्माकी छोरी ताराको भूमिकामा हुनेछिन् भने दयाहाङचाहिँ माइला तामाङको छोरो फुर्वाको भूमिकामा ।

यसअघि केही फिल्ममा तामाङ चरित्रमा देखिइसकेको भए पनि यति अर्थपूर्ण चरित्र भने पहिलो पटक गर्न लागेको दयाहाङले दाबी गरे । सिनेमा आर्टस, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्सनको ब्यानरमा बन्दै गरेको फिल्ममा अंकित खड्का, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कविता आले, अरुणा कार्की, लक्ष्मी बर्देवा, सम्रान्त थापा, केशव राई, प्रेमवर्षा खड्का, सिल्सा जिरेल लगायतको पनि अभिनय रहने बताइएको छ ।

शैलेन्द्र डी कार्कीको छायांकन रहने फिल्ममा कार्कीसँगै ओम गुरुङ, रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र विश्व गौचनको लगानी रहने जनाइएको छ । कार्यकारी निर्माता भने मणिराम पोखरेल र वाल्मीकि पोखरेल छन् । निमेश श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा र चन्द्रकुमार दोङको संगीत रहने बताइएको छ । झन्डै एक महिनामा सुटिङ सकिने आउँदो वैशाखमा फिल्म रिलिज हुने निर्देशक लामाले जनाए । स्रोतः कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah