उत्तर कोरियाको आणविक नीति सरल र स्पष्टजस्तो देखिन्छ, तर यो गलत तथ्यमा आधारित हुन सक्छ । उत्तर कोरिया हाल अन्तरमहाद्वीप मिसाइल आक्रमण गर्ने आणविक बमजस्ता हातहतियार विकास गर्न र ती हतियार आफ्नो नियन्त्रणमा राखिराख्न प्रयासरत छ । यसका साथै आफ्नो आणविक हतियार प्रदर्शन गरी संयुक्त राज्य अमेरिकाबाट हुन सक्ने आक्रमणबाट आफ्नो राष्ट्र र शासनसत्तालाई लामो समयसम्म टिकाउन चाहेको पनि देखिन्छ । भविष्यमा यसै हुन्छ भन्न त सकिँदैन, तर उत्तर कोरियाले आफ्नो शक्ति जति विस्तार गर्दै जान्छ, त्यति नै त्यसको चिन्ता अमेरिका, दक्षिण कोरिया, जापान र चीनसमेतलाई बढ्दै जाने कुराचाहिँ पक्का हो ।

अमेरिका र दक्षिण कोरियाली सैन्य शक्तिले उत्तर कोरियामा आक्रमण गर्ने कार्यतालिका एक दशकदेखि नै पर सर्दै आएको छ । यस्तो हुनुमा आणविक शक्तिको क्षमता नभएर होइन, बरु उत्तर कोरियाका आणविक हतियार, रकेट र मिसाइल नष्ट गर्ने कार्यमा यी दुवै देश लागेकाले चाहिँ हो । अन्ततः परिणाम के हुने भन्नेमा शंका छैन । आणविक शक्तिको सैन्य समाधानभन्दा उत्तर कोरियाली शासक तथा राष्ट्रपति किम जोङ उनको शासनसत्ता सहनु धेरै मूल्य पर्नेछ ।

तर, यो धारणा अपरिवर्तनीय होइन । उत्तर कोरियालाई आणविक शक्ति विस्तार गर्न दिनाले उसको अन्य राष्ट्रमाथि हमला गर्ने क्षमता पनि विकसित हुँदै जान्छ । तसर्थ, उसको परमाणु शक्तिविरुद्ध सैन्य बल प्रयोग गर्नुपर्ने निश्चित छ । उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानजस्ता देशमाथि आक्रमण गर्ने चेतावनी दिनुले पनि यसलाई पुष्टि गर्छ ।

उत्तर कोरियाको आणविक शक्तिविरुद्ध सैन्य बल प्रयोग गनुपर्ने विकल्पले ठूलो जोखिम निम्त्याएको छ । तसर्थ, सबैभन्दा पहिले नीति परिवर्तन गरेरै भए पनि सैन्य बलभन्दा अन्यत्रैबाट समाधान खोजिनुपर्छ । वासिङ्टनले उत्तर कोरियाको शासन प्रणाली परिवर्तन गर्न निरन्तर दबाब दिँदै आएको छ, तर यसले वास्तविक रूपमा काम गरेको छैन । यसअघि अमेरिकाले उत्तर कोरियाली शासन पद्धति परिवर्तन गर्न निकै प्रयास गरेको छ । आशा गरौँ, उत्तर कोरियाको नीति चाँडै परिवर्तन हुनेछ । किम जोङको शासन विस्थापित गर्न बाह्य शक्ति एक हुन सक्ने सम्भावना पनि जीवितै छ । चीनले यसमा प्रतिकार गरेन र अन्य राष्ट्रसँगै एक भयो भने पनि कुनै आश्चर्य मान्नुपर्ने छैन । चीन उत्तर कोरियाली क्षेत्र शान्त होस् र आफ्नो सीमा क्षेत्रमा कुनै अस्थिरता नहोस् भन्ने चाहन्छ । दक्षिण कोरिया र अमेरिकाले यसमा प्रतिबद्धता जनाए भने चीनले पनि समर्थन गर्न सक्छ । चीनका राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली नेता किम जोङबीच सम्बन्ध सुमधुर नभएको यसअघि नै प्रस्ट भइसकेको छ ।

उत्तर कोरियाली शासनसत्ता परिवर्तन गर्ने प्रयास गरियो भने पनि यसको परिणाम ज्यादै भयानक हुने देखिन्छ । कसैले पनि यस्तो होस् भन्ने चाहँदैन । तर, यदि उत्तर कोरियाले आफ्नो कार्य जारी राख्यो भने सैन्य योजनाकारले विकल्प खोज्न सक्नेछन् । यस्तो अवस्थाको समाधान गर्ने उपाय पनि छ । प्योङयाङले वासिङ्टनसँग सम्झौता गर्ने कुनै सम्भावना देखिँदैन । दक्षिण कोरियामा चाँडै नयाँ नेतृत्व आउन लागेको छ । दक्षिण कोरियाको नेतृत्व अझ खुला भयो भने आफ्नो व्यापार उत्तर कोरियासँग पनि विस्तार गर्न चाहन्छ । यसमा उत्तर कोरिया उत्साहित त नहोला, तर दक्षिण कोरियाको नेतृत्वमा जो आए पनि यसअघिका राष्ट्रपतिकै जस्तो धारणा राख्ने राष्ट्रपति नआउन सक्छन् । बीचमा आएका दक्षिण कोरियाली नेतृत्वसँग किमले सहकार्य नगर्लान् भन्न सकिन्न ।

उत्तर कोरियाका संस्थापक तथा किम जोङका हजुरबुबाले एक अर्काको राज्य व्यवस्थाको सम्मान गर्ने गरी स्वतन्त्र राज्यको प्रस्ताव गरेका थिए । दक्षिण कोरियामा प्रजातान्त्रिक प्रणालीबाट राष्ट्रपति चयन हुने व्यवस्था छ, तर उत्तरको व्यवस्था फरक छ । यस्तो अवस्थामा उत्तर कोरियाका किम जोङले दक्षिण कोरियालाई पत्र लेखी स्वतन्त्र र दुवै राज्यभन्दा बाहिर वार्ता गरी आणविक शक्तिको शान्तिपूर्ण समाधान खोजी गर्नु उपयुक्त हुने देखिन्छ । १९ सेप्टेम्बर २००५ मा ६ पक्षबीच भएको समझदारी चीनसहितको सहभागितामा पुनरावलोकन गरी ट्रम्पलाई उत्तर कोरियाले ‘बार्गेनिङ’का लागि खुला भएको संकेत दिनुपर्ने देखिन्छ । उत्तर कोरिया निशस्त्रीकरणमा सुरक्षाको प्रत्याभूति गरी ‘मिनी मार्सल प्लान’मा काम गर्नुपर्ने देखिन्छ । नभए उत्तर कोरियाले उसको काम जारी राख्नेछ । अब ट्रम्प प्रशासनका लागि दुई मात्र विकल्प छन् । या त उत्तर कोरियालाई यसै छोड्ने वा उसको उद्देश्यमा रोक लगाउने । सबै विकल्प टेबलमै छन् । प्योङयाङले कुन रोज्ने हो, हेर्न बाँकी छ ।

(कोसा अमेरिकाको होनोलुलुस्थित विदेश नीति अध्ययन संस्थान ‘प्यासिफिक फोरम सिएसआइएस’का प्रेसिडेन्ट हुन्)
 द जापान टाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय