
जाडो मौसम छालाका लागि निकै संवेदनशील हुने गर्दछ । सुक्खा हुने, एलर्जी आउने, फुट्ने जस्ता विभिन्न समस्या देखिने भएकाले चिसो मौसममा छालाको स्याहार अझ धेरै गर्नुपर्ने हुन्छ ।
धुवाँधुलोले छाला सुक्खा बनाउने हुँदा मेकअप गर्नुभन्दा अगाडि क्लिन्जिङ गर्नुपर्छ । आफ्नो छालाको टोनअनुसार मोस्चराइजर अनिवार्य प्रयोग गर्नुपर्छ । जसले छाला सुक्खा हुनबाट बचाउनुका साथै मेकअपलाई सेट गर्नसमेत सहयोगी हुन्छ ।
- मोस्चराइजरको प्रयोग अन्य मौसमको तुलनामा अलि धेरै गर्नुपर्छ ।
मोस्चराइजर लगाएको केही समयपछि मात्र प्राइमर र त्यसपछि सनब्लक लगाउने गर्नुपर्छ ।
- छालाको टोनअनुसार फाउन्डेसन लगाउने गर्नुपर्छ । बजारमा पाइने जुनसुकै ब्रान्डका फाउन्डेसन प्रयोग गर्नुहुँदैन । फाउन्डेसनको छनोटमा ध्यान नदिँदा छालामा दीर्घकालीन असर देखिन्छ ।
- छाला धेरै नै सुक्खा हुने व्यक्तिले फेसवेल प्रयोग गर्न सक्छन् । फाउन्डेसन लगाउनुभन्दा अगाडि अनुहारमा सेरम वा तेल प्रयोग गर्नाले छाला सुक्खा हुनबाट बचाउँछ ।
- जाडोमा पाउडरको प्रयोग त्यति लाभदायी हुँदैन । पाउडर प्रयोग गर्न मन भए कम्प्याक्ट प्रयोग गर्नुपर्छ, जसमा मोस्चराइजरको मात्रा पाइन्छ ।
- चिसोले गर्दा छाला नीलो हुन्छ, जसमा मेकअप गर्दा त्यति ग्लोइङ देखिँदैन । तसर्थ, जाडो याममा मेकअप सकेसम्म डार्क गर्नुहुँदैन । आइस्याडो लगाउँदा अलिकति ध्यान दिनुपर्छ ।
- अनुहारलाई चमक दिन आँखालाई स्मोकी लुक दिन सकिन्छ । यसमा सबैभन्दा पहिले आँखालाई सफा गरेर लाइट कलरको आइस्याडोे लगाएर राम्ररी ब्लेन्ड गर्नुपर्छ, त्यसपछि आँखामा पेन्सिल काजल र आइलाइनर लगाउनुपर्छ ।
- दुलहीका लागि ग्लोइङ मेकअप राम्रो मानिन्छ । चिसोमा दुलहीको मेकअप आकर्षक देखाउन रातो टीका र लिपस्टिक लगाउनुपर्छ । आकर्षक देखिने नाममा हेभी मेकअप गर्नु राम्रो मानिदैन ।
- मेकअप सुहाउँदो ड्रेसअप र हेयर स्टाइल बनाउन जरुरी छ । पछिल्लो समय ब्राइडल हेयर स्टाइलमा रसियन हेयर स्टाइल चलेको छ । सौन्दर्यविद् मीनु थापाको यो टिप्स नयाँ पत्रिकामा प्रकाशित छ ।