काठमाडाैं/ ऊर्जामन्त्री वर्षमान पुनले मासिक न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई निःशुल्क गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्राधिकरण सञ्चालक बोर्डका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री पुनले आइतबारको बोर्ड बैठकमा यस्तो निर्देशन दिएका हुन् । हाल मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या ७ लाख घर छन् । ती परिवारलाई विपन्न परिवारबाट विद्युत् शुल्क नलिने योजना पुनले ल्याएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने परिवारलाई सेवा शुल्कबाहेक विद्युत् महसुल नलिने प्रस्ताव ल्याउन मन्त्रीले प्राधिकरणलाई निर्देशन दिनुभएको छ,’ बोर्ड बैठकबारे जानकारी गराउँदै मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले भने । हाल प्राधिकरणले न्यूनतम विद्युत् खपतको सीमा २० युनिट मानेको छ ।

यो सीमाभित्रका ग्राहकबाट प्रतियुनिट ३ रुपैयाँका दरले ६० रुपैयाँ र ३० रुपैयाँ सेवाशुल्क जोडेर ९० रुपैयाँ लिँदै आएको छ ।

मन्त्रीको योजना कार्यान्वयनमा आए न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले मासिक ३० रुपैयाँ मात्रै तिर्नुपर्नेछ । ७ लाख परिवारलाई १० युनटिसम्मको महसुल निःशुल्क गर्दा प्राधिकरणलाई वार्षिक २५ करोड रुपैयाँ घाटा हुने र उक्त घाटा प्राधिकरणका नयाँ आयोजनाबाट पूर्ति गर्न सकिने पुनको अनुमान रहेको भट्टले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।