केही दिन अघिदेखि सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाइरहेको छ।

पछिल्लो एक हप्तामा मात्रै सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज ७६ हजार प्रतितोला पुगेको हो।

यसअघि गत भदौमा सुनको मूल्य सबैभन्दा बढी थियो।

भदौ १८ मा प्रतितोला छापावाला सुन ७३ हजार ५ सयमा कारोबार भएको थियो।

तर सुनको त्यो उच्च मूल्य ठिक चार महिनापछि (पुष १८ गत)भंग भयो। शुक्रबार सुनको मूल्य ७४ हजार ५ सय पुग्दै नयाँ किर्तिमान बनायो।

त्यसपछि पनि सुनको मूल्य बढीरहेको छ। आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुन सोमबार ५ सयले बढेर ७६ हजारमा पुग्यो।

विश्वभरी नै सुनको मूल्य बढ्यो

सुनको मूल्य नेपालमा मात्रै होइन विश्वभरी नै बढीरहेको छ।

जानकारहरु अमेरिका र चीनको बीचमा भएको बढ्दो तनावको असर सुनमा देखिएको बताउँछन्।

गत शुक्रबार इराकको राजधानी बग्दादमा भएको अमेरिकी ड्रोन आक्रमणमा कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको मृत्यु भएपछि दुई देशको बीचमा तनाव एक्कासी बढेको छ। त्यसैले सुनको मूल्यमा पनि उछाल आयो।

आक्रमण हुनुपूर्व अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५ सय ३० अमेरिकी डलरको आसपास थियो ।

आक्रमण भएकै दिन शुक्रबार सुनको मूल्य बढेर १५ सय ५० अमेरिकी डलर पुग्यो। शनिबार र आइबार बन्द रहेको सुनको कारोबार सोमबार एकै दिनमा झन्डै ३० अमेरिकी डलरले बढेको छ।

अक्टोबरमा प्रति औंस सुनको मूल्य १५ सय १५ अमेरिकी डलरमा थियो।

त्यसपछि अमेरिका र चीनमा बीचमा हुने भनिएको वार्ताका कारणले सुनको मूल्य घटेर १४ सय ५० पुग्यो। तर वार्ता नहुने भएपछि सुनको मूल्य फेरि उकालो लाग्न सुरु भएको थियो ।

त्यही बेला अमेरिका र इरानमा तनाब बढेपछि सुनको मूल्य आकासियो।

अमेरिकामा तनाव बढेपछि व्यावसायीहरु अन्य व्यावसाय छोडेर सुनमा लगानी बढाउने गर्छन्। त्यसैले सुनको माग ह्वात्तै बढेर मूल्य बढ्छ।

यस्तै, भारतिय मुद्रा कमजोर हुँदा डलर महंगो पर्न गई सुनको भाउ वृद्धि भएको बताइएको छ।

नेपाल सुनचाँदी व्यवासायी महासंघले सुनको मूल्य अझै बढ्नसक्ने बताएको छ। महासंघका महासचिव धर्मसुन्दर ब्रजाचार्यले यही क्रम जारी रहे प्रतितोला सुनको मूल्य ८० हजार पुग्नसक्ने बताए।

सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।