
सामाजिक सञ्जालमा तेस्रो विश्वयुद्धको चर्चा चलिरहँदा ज्योतिषविद्याका जानकारहरू भने कुनै युद्ध नहुने बताइरहेका छन् ।
भारतको ज्योतिष संस्थान फ्युचर पोइन्ट प्रालिका अध्यक्ष डा अरुण कुमार बंसल भन्छन्, ‘इरान घटनापछि संसारमा अलिकति हलचल त हुनेछ तर कुनै ठूलो युद्ध भने हुने छैन । ६ वटा ग्रहहरू एउटै घरमा एकसाथ आएकाले अहिले उथलपुथल देखिएको हो । तर केही दिनपछि शनि ग्रह मकर राशिमा आएपछि स्थितिमा सुधार आउनेछ ।’
सन् १९६२ को भारत चीन युद्धका बेलामा पनि आठवटा ग्रह एकैपटक एउटै घरमा आएका थिए । कारगिल युद्धका बेलामा पनि ६ ग्रह एकसाथ थिए । पोहोर सालको डिसेम्बर महिनादेखि ६ ग्रहहरू केतु, शनि, गुरु, सूर्य, बुध र चन्द्रमा एकसाथ धनु राशिमा आएका छन् । शुक्र र मंगल पनि एकैचोटि नजिकैका घरमा छन् । त्यसैले गर्दा विश्वमा विस्फोटक गतिविधि भइरहेका छन् ।’
अप्रिल महिना लाग्दासम्म स्थिति निकै शान्त हुनेछ । शनि अहिले धनु राशिमा छ । जनवरी २४ मा शनि स्वराशि मकरमा आउनेछ । अनि अन्य ग्रह पनि अलग्गिन थाल्नेछन् ।
पण्डित यशकरण शर्मा भन्छन्, ‘शनि स्वराशिमा हुँदा शान्ति बहाल हुन्छ । शनि न्यायाधीश हुन् र शान्ति कायम गर्ने उनको काम हो । त्यसैले विश्वयुद्धको चिन्ता लिनुपर्दैन र विश्वयुद्धको आशंकामा कुनै दम छैन ।’
एजेन्सी



